तालपोखरा रामपुरकाे पत्रकार सम्मेलन मार्फत खर्च सार्वजनिक

बाेली खबर   २४ श्रावण २०७८, आईतवार ०८:०६

रामपुर, तालपोखरा संरक्षण समिति रामपुर पाल्पाले आम्दानी खर्च सार्वजनिक गरेको छ । पर्यटन विभाग मार्फत तालपोखराको स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७७/०७८ मा विनियोजित रकमको पत्रकार सम्मेलन मार्फत खर्च सार्वजनिक गरेको हो ।

पर्यटन विभाग बाट विनियोजित ५० लाख मार्फत ताल वरपर ३ सय मिटर रड सहितको पर्खाल, ८० मिटर मेशिनरी पर्खाल लगाईएको तालपोखरा संरक्षण समितिले जनाएको छ । रामपुर नगरपालिकाको प्रमुख पर्यटकिय स्थलको रुपमा रहेको तालपोखराको पूर्वाधार गत आर्थिक वर्षमा स्तर उन्नति भएको थियो । एक सय पर्यटकिय गन्तव्यमा पर्न सफल रामपुर ६ स्थित तालपोखरा सुकाएर सतह सरसफाई गर्नुका साथै तालको वरपर पर्खाल लगाईएको थियो ।

कोभिड महामारीका कारण तालपोखरा संरक्षण समितिका पदाधिकारी, तालपोखरा ज्ञानमहायज्ञका दानदाता, राजनैतिक दल र पत्रकारहरुको उपस्थितिमा खर्च सार्वजनिक गरेको हो । खर्च सार्वजनिक गर्दै तालपोखरा संरक्षण समितिका अध्यक्ष सागर प्रसाद देवकोटाले विभाग बाट विनियोजित रकम मार्फत ४७ लाख २३ हजार ५८ रुपैयाँ प्राप्त भएको बताउनुभयो । जस मध्ये स्टिमेट अनुसार उपभोक्ता समिति मार्फत काम गर्दा ज्यामी खर्च ११ लाख १४ हजार ७ सय, रड र सिमेन्ट खरिदमा १७ लाख ३२ हजार ५ सय ५, विद्युत सहित पानी तान्ने पम्पको सामान खरिदमा ४७ हजार, गिट्टी बालुवा ढुवानीमा ६ लाख २१ हजार २ सय, माटो कटाइमा ४ लाख ५७ हजार ९ सय, ग्रिल निर्माणमा ६५ हजार र विविधमा गरी ४० लाख ४५ हजार ३ सय ५ खर्च भएको जानकारी गराउनु भयो । समितिमा ६ लाख ७७ हजार ७ सय ५३ रुपैयाँ बचत रहेको जानकारी दिनुभयो । उहाँले समितिले आफ्नो विधान अनुसार सदस्यता खुलाउन लागेको बताउनुभयो ।

तालपोखरा निर्माणको लागि दान दिनुहुने दाताहरुलाई सम्मानका साथ मानानार्थ सदस्यमा राखिएको जानकारी दिदै २ हजारमा आजीवन सदस्य र ३ सय रुपैयाँमा साधारण सदस्यता वितरण गर्न लागिएको बताउनुभयो । जस अनुसार मंसिर मसान्त भित्र सदस्यता लिन सकिने छ । कार्यक्रममा बोल्दै तालपोखरा संरक्षण समितिका प्रधान संरक्षक एवं रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले तालपोखरा रामपुर नगरको सिङ्गो गहना भएको बताउनुभयो । उहाँले तालपोखराले नगरको पहिचानलाई थप उचाईमा पु¥याएको स्मरण गर्दै यसको संरक्षण र प्रवद्र्धनको लागि नगरपालिकाले सदा साथ दिने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले समितिले अन्य उपभोक्ता समितिहरु समक्ष सकारात्मक सन्देश दिएको बताउनुभयो ।  तालपोखरा संरक्षण समितिका उपाध्यक्ष पुरुषोत्तम ढकालले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै सबैको सहयोगले तालपोखरा वर्तमान अवस्थामा आएको बताउनुभयो । तालपोखरा संरक्षण समितिका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष ढकालको स्वागत र सदस्य जनक भण्डारीको सञ्चालनमा भएको हो ।