आज रक्षाबन्धन एवम् जनै पूर्णिमा मनाइँदै

बाेली खबर   ६ भाद्र २०७८, आईतवार १०:०१

पाल्पा, आज श्रावण शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमा । देशैभर ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको परम्परा चलेको शास्त्रहरूमा उल्लेख छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ । आजकै दिन तागाधारीहरुले आफ्नो जनै (यज्ञोपवित) फेर्छन् । यसका लागि हिजैदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । व्रत बसेका तागाधारीहरुले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ ।ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ । आजै मन्त्रिएको जनै फेर्ने गरिएकाले नै श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिन्छ ।  तराईतिर भने आज दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई नाडीमा राखी बाँधीदिने चलन छ ।

बौद्ध दर्शनलाई अँगाल्ने बौद्ध धर्मावलम्बीले भने आजको दिनलाई भगवान् गौतमबुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रुपमा मनाउने गर्दछन् । आजका दिन नेवारी समुदायमा एघारथरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाने प्रचलन रहेको छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता छ । नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने गर्दछन् । ।