
रूपन्देही । निरन्तर वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ। परासीहुँदै बगेको झरही र रावणखन्डा खोलाको बाढी परासी बजारमा पसेर बजार क्षेत्र डुबानमा परेको हो। बजारको अधिकांश स्थान जलमग्न भएको छ। बजारका सयौं घर डुबानमा परेका छन्।
डुबानले परासी बजार रामग्राम नगरपालिकाको वडा नम्बर– १ को सहुवाटिकर, वडा नम्बर–२ को मस्जिदटोल, हाटबजार टोल, वडा नम्बर ३ को संगम टोल, मालटोल, लोकतान्त्रिक टोल, वडा नम्बर–५ को प्रशासनटोल ड्राइभटोल, इमलीटोल, बुद्ध चोक टोल र वडा नम्बर–६ पोखरापाली टोल डुबानमा परेको नगर प्रमुख नगेन्द्र गुप्ताले बताए।
बाढीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सैनिक ब्यारेकसहित विभिन्न सरकारी कार्यालयमा पनि २ देखि ५ फिटसम्म पानी जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए। सयौं घरमा बाढी पसेर खाद्यान्न, लत्ता कपडा, फर्निचरलगायत सामानमा क्षति पुगेको छ।
बाढीले पूर्वपश्चिम राजमार्गको ठाउँ–ठाउँमा सडक अवरुद्ध छ ।
त्यस्तै बुधबारदेखि परेको अविरल वर्षाका कारण रुपन्देही, कपिलवस्तु र नवलपरासीको दक्षिणी क्षेत्रका अधिकांश स्थान डुबानमा परेका छन् । रुपन्देहीको बुटवल, तिलोत्तमा, सैनामैना, भैरहवा देवदहका अधिकांश भूभाग डुबानमा परेका हुन् ।
भैरहवासहित जिल्लाको दक्षिणी क्षेत्रमा पूरै गाउँ डुबानमा परेका छन् । नवलपरासीको परासी बजार पूर्णरूपमा डुबेको छ ।
रुपन्देहीको देवदहस्थित घोडाहाको पक्की पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
त्यस्तै नवलपरासीको गैंडाकोटमा रहेको डाईभर्सन बगाउँदा रातिदेखि नै राजमार्ग अवरुद्व भएको थियो ।
निरन्तरको वर्षाले रूपन्देहीको तिनाउ, रोहिणी, कन्चन, कपिलवस्तुको वाणगंगामा जलसतहभन्दा माथि आएको छ ।