
तानसेन, नेपालले अंग्रेजलाई पराजय गरेको उल्लास अर्थात् भगवती जात्रा (रथयात्रा) आज मनाइदै छ । पाल्पामा हरेक वर्ष कृष्णाजन्माष्टीको भोलि पल्ट भगवतीको रथ यात्रा गरिने परम्परा छ । यो वर्ष कोरोना महामारीका कारण भव्य रथयात्रा नहुने भएको छ ।
परम्परा धान्नका लागि मन्दिर भित्रै मात्र पूजा गरिने तयारी गरिएको छ भने भीडभाड हुने भएकाले सर्वसाधारणलाइ पूजा गर्न स्वीकृत छैन । आजको भगवती रथयात्राका लागि तयारी गरिएको छ ।
२०१ वर्ष अघि देखि मनाइँदै आएको ऐतिहासिक भगवती जात्रा भगवतीको प्रतिमूर्ति घुमाएर रथयात्रा गरिने परम्परा छ । कोरोना भाइरसको महामारीका कारण गत वर्षमा जस्तै यस वर्ष पनि ऐतिहासिक भगवती जात्रा नमूनाको रूपमा मात्र मनाउने निर्णय भएको मन्दिर व्यवस्थापन समितिका सचिव भीमसेन कार्कीले बताउनुभयो ।
कोरोना महामारी नभएका बेला भगवतीको रथ तानसेन बजारका विभिन्न स्थानमा भव्य मानिसको सहभागितामा धुमधामसहित घुमाउने प्रचलन थियो । वि.स. १८७१ देखि १८७२ सम्मको अङ्ग्रेजसँगको युद्वमा नेपाली सेनाले जीतगढी किल्ला विजय गरेको थियो । यही किल्ला जितेको सम्झनामा १८७७ देखि तानसेनमा भगवती जात्रा विजय उत्सवको रुपमा मनाइँदै आएको छ ।
यसैबीच भगवती जात्राको एतिहासिक र विशेष महत्व रहेको भन्दै लुम्विनी प्रदेश सरकारले पाल्पामा आज मंगलबार एक दिन सार्वजनिक बिदा घोषणा गरेको छ । लुम्विनी प्रदेश सरकारले प्रकाशित गरेको पर्व एवं विदा उल्लेख गरिएको राजपत्रमा भगवती जात्राका दिन पाल्पामा सार्वजनिक विदा दिने उल्लेख गरेको छ । राजपत्रमा सम्बन्धित समुदायका लागि भगवती जात्राका दिन पाल्पा जिल्लाभर बिदा दिने उल्लेख छ ।
फाेटाेः फाइल