पाल्पाका ८१ वडामा आज नेपाली कांग्रेसकाे अधिवेशन हुँदै

बाेली खबर   २१ भाद्र २०७८, सोमबार १०:१२

रामपुर, नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पाल्पामा आज बाट अधिवेशन प्रक्रिया सुरु भएको छ । महाधिवेशनका लागि जिल्लाका २ नगरपालिका र ८ गाउँपालिकाका ८१ वडामा सोमबार देखि वडा अधिवेशन हुने लागेको कांग्रेस पाल्पाले जनाएको छ ।

महाधिवेशन तालिका अनुसार भदौ १८ गते निर्धारण गरिएको वडा अधिवेशन पाल्पा सहित २१ जिल्लामा क्रियाशिल सदस्य विवादका कारण अधिवेशन सुरु हुन सकेको थिएन । जिल्लामा क्रियाशिल सदस्य विवाद अन्त्य भए संगै आज वडा अधिवेशन हुन लागेको नेपाली कांग्रेस पाल्पाका सचिव झपेन्द्र गहिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘क्रियाशिल सदस्य विवाद समाधान भएको छ । आज वडाहरुमा अधिवेशन हुनेछ । ’

निर्वाचन मण्डलका सदस्य लक्ष्मण बस्यालले कांग्रेसको नयाँ विधान अनुसार वडाको सभापतिमा १, उपसभापतिमा २, सविचमा २, सहसचिवमा २, कोषाध्यक्षमा १ जना सहित कम्तीमा २२ सदस्य वडा कार्यसमिति निर्वाचित हुने व्यवस्था रहेको बताउनुभयो । उहाँले जिल्लाका वडाहरु बाट न्यूनतम १५ जनाको दरले क्षेत्रिय प्रतिनिधि चयन हुने जानकारी दिनुभयो । जस मध्ये सबै भन्दा धेरै रामपुर नगरपालिका ५ बाट ४६ जना र पूर्वखोला गाउँपालिका ४ देविनगर सबै भन्दा थोरै १४ जना प्रतिनिधी चयन हुनेछ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म काठमाडौंमा हुनेछ । कांग्रेसको नयाँ कार्यतालिका अनुसार गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय तथा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते र प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ ।