पाल्पा, पाल्पामा नेकपा एमाले विभाजन असर कम परेको छ । यहाँका कुनै पनि स्थानीय तहका जनप्रतिनिधि एमाले फुटेर बनेको एकीकृत समाजवादीमा लागेनन् । त्यस्तै पार्टीको तत्कालीन ९० जनाको जिल्ला कमिटीका चार जनामात्र गएका एकीकृत समाजवादीमा लागेका छन् । १० पालिका रहेको पाल्पामा एमालेबाट ६ पालिकामा प्रमुख–उपप्रमुख र एक पालिकामा उपप्रमुख गरी १३ जना निर्वाचित भएका थिए ।
एमालेले तानसेन नगरपालिका, रिब्दीकोट, रम्भा, पूर्वखोला, निस्दी र तिनाउ गाउँपालिकामा प्रमुख तथा उपप्रमुख र बगनासकाली गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । ४ गाउँपालिका अध्यक्ष र ३ पालिकाको उपाध्यक्षमा कांग्रेसले जितेको पाल्पामा माओवादीले भने जिल्लाभरमा ३ वटा वडामा मात्र नेतृत्व पाएको थियो । तानसेन नगरपालिका मेयर अशोक शाही र उपमेयर लक्ष्मीदेवी पाठक, तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती र उपाध्यक्ष दमयन्ती थापा, रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण जिसी र उपाध्यक्ष लक्ष्मी खनाल, पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापा र उपाध्यक्ष भागीरथी भट्टराई, रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी, उपाध्यक्ष राधा श्रेष्ठ, निस्दी गाउँपालिका प्रमुख मुक्तबहादुर सारु उपाध्यक्ष रिताकुमारी अर्याल र बगनाशकाली गाउँपालिका उपाध्यक्षमा सरस्वती चिदी एमालेबाट निर्वाचित भएका थिए ।
जिल्लाका नेता पनि एमालेमै धेरै
‘साविकका ९० जनाको जिल्ला कमिटी हो, उता ३ जना गएको सुनिएको छ, पालिकामा जितेका प्रमुख उपप्रमुख गरी १३ जना सबै एमालेमै छौं, एमाले जिल्ला सचिव ओमबहादुर घर्तीले बताए ।
पाल्पामा नेकपा (एस)ले गरेको भेलामा पूर्वसांसद यादवबहादुर रायमाझी, प्रदेश सांसद रमा घर्ती, साविक एमालेका सहसचिव कमल पाण्डे, जिल्ला कमिटीमा रहेका लेखनाथ पोखरेल, चुरा गोदार र मोहन गैरे सहभागी रहेको सो पार्टी जनाएको थियो ।
पाल्पाबाट नेकपा एकीकृत समाजवादीमा राजेन्द्रलक्ष्मी गैरे केन्द्रीय सदस्य बनेकी छन् । सांसद सोमप्रसाद पाण्डे र पूर्वसांसद यादवबहादुर रायमाझी पनि समाजवादी लागिसकेका छन् । यसअघि समानान्तर कमिटी नबनेको पाल्पामा केन्द्रीय सदस्य गैरेले पाल्पामा केही दिनभित्र जिल्ला कमिटी घोषणा हुने जानकारी दिइन् ।
पाल्पाबाट तीनपटक सांसद बन्दै मन्त्रीसमेत बनेका एमाले केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले पहिले पार्टी विभाजनमा आफू तयार नभएको बताएपनि अन्तिममा समाजवादीमै लागेका छन् ।
नेकपा (एस)का अध्यक्ष माधव नेपालका सम्धी रहेका उनी अन्तिम समयमा समाजवादीमा लागेपनि आफ्नो गृहजिल्लामा भने संकटमा परेका छन् ।
पाल्पाबाट अर्का प्रभावशाली नेता दलबहादुर राना एमालेमै छन् । दुईवटा निर्वाचन क्षेत्र रहेको पाल्पामा क्षेत्र नं १ बाट राना र २ बाट पाण्डे प्रतिनिधिसभामा विजयी भएका थिए । प्रदेशसभामा एमालेबाट निर्वाचित ३ र एक समानुपातिक सांसद छन् । निर्वाचित सांसद नारायण आचार्य, युवराज खनाल, डा. पुरन बज्राचार्य एमालेमै छन् । समानुपासिक सांसद रमा घर्ती भने समाजवादी रोजेका छन् ।