मित्यालका हस्त बहादुर खाम्चालाई पुनः आर्थिक सहयोग

धन बहादुर ठाडा   ६ आश्विन २०७८, बुधबार १८:२३

निस्दी, निस्दी गाउँपालिका मित्यालका हस्त बहादुर खाम्चालाई पुनः आर्थिक सहयोग प्राप्त भएको छ । धन कमाउनको लागि विदेश पसेका निस्दीका खाम्चा पूर्ण अशक्त भएर फर्किए भन्ने समाचारको प्रभावबाट खाम्चालाई विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटदै आएको छ ।

विगत केही वर्ष अगाडि रोजगारीको सिलसिलामा साउदी अरेबियामा गएका खाम्चा काम गर्दैगर्दा दुर्घटनामा परि पूर्ण अशक्त भएर नेपाल फर्केका थिए ।

निस्दी गाउँपालिका ४, मित्याल भोर्मा, पाल्पा स्थायी निबासी खाम्चालाई हाल दुबईमा कार्यरत नेपाली दाजुभाइहरुले ५० हजार रकम पठाइएका छन । उक्त रकम निस्दी गाउँपालिका मित्याल तथा झिरुबास स्थायी घर भइ हाल दुबईमा रहेका नेपालीहरुले आफुहरुले कमाएको पैसाबाट बचाएर खाम्चाको परिवारलाई थोरै राहत मिलोस भनेर पठाएको बताएका छन् ।

सहयोग रकम दुर्गा बहादुर सुनारीको विषेश पहलमा विभिन्न व्यक्तिहरुसंग संकलन गरि पठाएको भुपिन्द्र सुनारीले बताए । रकम पाएपछि खाम्चाले खुसी व्यक्त गर्दै सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएका छन् ।

यस अगाडि पनि खाम्चालाई विभिन्न व्यक्ति तथा समूहले रकम सहयोग गरेका थिए । हालसम्म खाम्चालाई १ लाख २६ हजार २ सय ६९ रुपैयाँ सहयोग प्राप्त भएको छ ।