
न्याय तथा अधिकार संस्था–नेपाल (जुरी–नेपाल) ले दोश्रो सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ । कोभिडको विद्यमान अवस्था र सम्बन्धित सरोकारवाला निकायको सहभागिता समेतलाई ध्यानमा राखी कार्यक्रम भर्चुअल माध्यममा सम्पन्न गरिएको हो । संस्थाले गत आर्थिक बर्षबाट संस्थाका गतिविधि, यसको प्रभाव र खर्चको विवरण सम्वन्धित सरोकारवाला, सरकारी निकाय, संस्थाबाट प्रत्यक्ष लाभान्वित वर्ग तथा सामाजिक क्षेत्रका अभियन्ताहरुवीच सार्वजनिक गर्ने र आगामी दिनका लागि सल्लाह सुझाव लिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथिको रुपमा बोल्दै मधेशी आयोगका अध्यक्ष माननीय डा. बिजयकुमार दत्तले जुरी– नेपालले सञ्चालन गर्दै आएको गतिविधिलाई धन्यवाद दिनु भएकाे छ । आगामी दिनमा विशेष गरेर सिमान्तकृत वर्गको हितमा कार्यक्रम केन्द्रित गर्न र विकासको पक्षबाट सबैभन्दा पछाडि परेको भौगोलिक क्षेत्र र जनसंख्यामा आफ्ना गतिविधि बढाउन सुझाव दिनुभयो । साथै उहाँले संस्थाका गतिविधि र मानव अधिकार रक्षक जस्ता सञ्जालहरुको विस्तार गरी सातवटै प्रदेशलाई समेट्न सुझाव दिनुभयो।
अतिथिको रुपमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका निमित्त सचिव मुरारी खरेलले आयोगका सिफारिस कार्यान्वयका लागि दवाव श्रृजना गर्ने कार्यमा संस्थाले आयोगसँग सहकार्य गर्दै आएको र यस क्षेत्रमा अझै बढी क्रियाशील भई मानव अधिकारको प्रत्याभूतिका लागि सहकार्यको लागि अनुरोध गर्नुभयो । त्यसैगरी सुदुरपश्चिम प्रदेश, समाजिक विकास मन्त्रालयका कानून अधिकृत श्री दान बहादुर सुनारले बाल विवाह, छाउपडी प्रथा र जातीय छुवाछुत तथा विभेदको व्यवहारिकरुपमा अन्त्यका क्षेत्रमा संस्थाले निरन्तर र थप प्रभावकारी भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो ।
गैरसरकारी संस्था महासंघका अध्यक्ष जितराम लामाले जुरी– नेपाल मानव अधिकार, कानूनको शासन र न्यायको क्षेत्रमा तीनवटै तहमा स्थापित भई नमूनाको रुपमा अघि बढेको र मानव अधिकारका सवालहरुलाई अन्र्तराष्ट्रिय मञ्चमा वकालत र पैरवीका लागि थप पहल गर्नुपर्ने सुझाव दिनुभयो । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार राष्ट्रिय सचिवालय संस्थाका सदस्य तथा सिद्दार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तुका सल्लाहकार पोम नारायण पौडेल, मानव अधिकार रक्षक सञ्जाल लुम्बिनी प्रदेशका संयोजक रवी ठाकुर, मानव अधिकार रक्षक सञ्जाल प्रदेश नं २ का संयोजक ओम प्रकाश गिरी तथा जुरीको साझेदार संस्था नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कैलालीका अध्यक्ष चक्र वि.क, मोहन्याल दृष्टिबिहिन तथा अपाङ्गता समाज डोटीका खड्क बोहरा, मुक्त कमलरी विकास मञ्च दाङका अध्यक्ष शान्ति चौधरी र जुरीका संस्थापक अध्यक्ष तथा सल्लाहकार राजुप्रसाद चापागाई लगायतले जुरीका गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा सिमान्तकृत समूदायको हकहितका क्षेत्रमा अझ बढी क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।
गत आ.व.मा सस्थाको आन्तरिक गतिविधिका अतिरिक्त जुरी–नेपालले तीनवटा परियोजना सञ्चालन गरेको छ । कार्यक्रमका विकास साझेदारहरुका तर्फबाट आइ.एम.स्विडिस डेभलपमेन्ट पार्टनरका तर्फबाट सुनिता गुरुङ, ओपन सोसाइटी पोलिसी सेन्टरका तर्फबाट सोम निरौला र यु.एन.वुमनको तर्फबाट सन्तोष आचार्यले जुरी–नेपालले जिम्मेवार सामाजिक संस्थाको भूमिका खेलेकोमा धन्यवाद दिंदै सुधारका लागि समेत विभिन्न सुझाव दिनुभएको छ ।
संस्थाको गत वर्षको गतिविधिको प्रस्तुति संस्थाका कार्यकारी निर्देशक मोहनलाल आचार्यले गर्नुभएको थियो भने आर्थिक आयव्ययको प्रस्तुति लेखा तथा प्रशासन प्रमुख सुनिता सिंह ठकुरीले गर्नुभएको थियो । संस्थाले आ.व.२०७७÷७८ मा विभिन्न परियोजना र संस्थागत खर्च गरी करिव २ करोड ६४ लाख रकम खर्च गरेको छ । कार्यक्रममा संस्थाको लेखा परीक्षण गर्ने निकायका चाटर्ड एकाउन्टेन्ट अनिल जोशीले संस्थाको आन्तरिक सुशासनका विषयमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको उद्देश्यका बारेमा संस्थाका महासचिव अधिवक्ता शसी बस्नेतले जानकारी गराउनुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष अधिवक्ता श्यामकुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको समापनका क्रममा संस्थाका अध्यक्षले कार्यक्रममा प्राप्त भएका टिप्पणी र सुझावहरुलाई सकारात्मकरुपमा लिई संस्थाको गतिवधि र आन्तरिक सुशासनलाई अझ बढी दृण गर्दै लैजाने प्रतिबद्दता व्यक्त गर्नुभएको छ । कार्यक्रमको सहजिकरण सञ्चारकर्मी तथा सुशासन अभियन्ता श्री दिपेश घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा भर्चुअलमार्फत करिव ६० जनाको सहभागिता रहेको थियो । जुरी नेपालले आफुले गत बर्षमा सम्पन्न गरेका बार्षिक प्रगति प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन संस्थाको वेभसाइटमा सार्वजनिक गरिसकेको छ ।