
कवि गणेश अात्रेयकाे कवितासङ्ग्रह ‘छन्द लहरी’ काे विमाेचन कार्यक्रम एक भव्य समारोहबीच सम्पन्न भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहनु भएकाे छ ।
प्रमुख अतिथि ज्ञबालीले बाेल्दै कवि गणेश अात्रेयका कवितामा वर्तमान समाजमा सबै क्षेत्रमा भित्रिएका विकृतिप्रतिकाे चिन्ता, श्रमप्रतिकाे सम्मान व्यक्त हुनुका साथै सामूहिक चेतना प्रतिबिम्बित भएर अाएकाे कुरा प्रकाश पार्नुभयाे ।ठाउँठाउँमा दार्शनिक चेतना पाेतिनुका साथै ईश्वरप्रतिकाे भराेसा भाव पनि समेटिएको बताउनुभयो । स्रष्टाले समाजमा सकारात्मक विचार प्रवाहित गर्नुका साथै अात्मविश्वास जगाउने कुरामा ध्यान दिनुपर्ने कुरामा जाेड दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ साहित्यकार चाेलेश्वर शर्माले गणेश अात्रेय पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत सिर्जना कर्ममा विशेष सक्रिय रहेको र त्यसैको पृष्ठभूमिमा कृति प्रकाशनमा अाएकाे कुरा उल्लेख गर्नुभयो । कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै साहित्यकार तथा समालोचक डा. शंकरप्रसाद गैरेले कृतिका बाह्य तथा अान्तरिक विशेषतामाथि प्रकाश पार्नुभयाे ।
कृतिमा एक सय एक्काइसवटा कविता समेटिएको र प्रत्येक कविता फरकफरक छन्दमा रहेको यस्तो कृति अाफूले पहिलोपटक भेटेको कुरा पनि उल्लेख गर्नुभयो । विषयगत विविधता भएको प्रस्तुत कृति छन्दमा कविता लेख्न चाहनेहरूका लागि उपयोगी सामग्री रहेको सन्दर्भसमेत उठाउनुभयो । साहित्यकार रामप्रसाद अर्यालले कृतिकार गणेश अात्रेयकाे जीवनी, व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभयाे । कृतिकार गणेश अात्रेयले अाफूलाई कृति प्रकाशनतर्फ त्यति माेह नरहेको तर सामाजिक सञ्जालका प्रतिक्रिया र साथी शुभेच्छुकहरूका सल्लाहले उत्साहित गराएको सन्दर्भ उठाई यस्तो कर्मकाे अगुवाइ गर्ने पुत्र गुराँस अात्रेय र सहयोगीहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
नेता ठाकुर गैरे, पाेखराथाेक साहित्य सङ्गमका अध्यक्ष हरि भट्टराईलगायतले कतिकारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । टंक पन्थ, भावना खनाल, तुलसीराम पाेखरेल, सुमन पन्थीद्वारा छन्द लहरी भित्रका कविता वाचनसमेत गर्ने काम भयो । धवल पुस्तकालयका अध्यक्ष युवराज पाैड्यालकाे अध्यक्षता, काेषाध्यक्ष सन्तोष खनालको स्वागत मन्तव्य तथा महासचिव राजेशकुमार अर्यालको सञ्चालनमा कार्यक्रम चलेको थियोे । विविध छन्दमा रचिएको ‘छन्द लहरी’ अवश्य पनि पठनीय सामग्री बन्नेछ ।


