
पाल्पा, लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीर बहादुर रानाले लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेशका रुपमा अघि बढाउने बताउनु भएको छ । मन्त्रीमा बन्नु भए संगै पहिलो पटक रामपुर आउनु भएका रानाले नेपाल प्रेस युनियन पाल्पाले रामपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा उज्यालो अभियानको सुरुवात पाल्पा बाटै थालनी गर्ने बताउनुभयो ।

रानाले बजेट आईसके पनि उज्यालो प्रदेशका रुपमा चिनाउन अघि बढेको जानकारी गराउनु भएको छ । उहाँले भन्नुभयो, ‘अहिले वार्षिक बजेट आईसकेको छ । तर मुख्य मेरो ध्येय भनेको यो प्रदेशलाई उज्यालो प्रदेशका रुपमा कसरी लिएर जाने भन्ने रहेको छ । कहाँ बाट सुरु गर्ने भन्दा सुरुवात पाल्पा बाट गर्नु पर्छ । पाल्पा उज्यालो हुनु पर्छ भन्ने हिसाबले जान खोजेको छु ।’ त्यसै क्रममा उहाँले थप्नुभयो, ‘प्रदेश भित्रका केही स्थानमा अझै विद्युत पुग्न नसकेको तितो यथार्थ हामी माझ छ । उज्यालो प्रदेशका लागि जलविद्युत संगै लघुजल विद्युत, सौर्य उर्जा, वायु उर्जाको सहायता लिएर उज्यालो प्रदेशको रुपमा चिनाउने छौं । प्रदेश सरकार संयुक्त लुम्बिनी, आत्मनिर्भर प्रदेशको अवधारणा अनुसार अघि बढेको बताउँदै कृषिको आधार सिंचाईमा सुधार भन्ने नाराका साथ सिंचाईका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
एक फरक प्रसंगमा रानाले पद्धति परिवर्तन गरे पनि शैली परिवर्तन नहुँदा दलहरु प्रति जनतामा वितृष्ण देखिएको बताउनुभयो । उहाँले अब शैली परिवर्तन र संस्थागत गर्न लाग्ने समय आएको बताउनुभयो । उहाँले सरकार जुन सुकै भएपनि नागरिक संग प्रत्यक्ष जोडिनु आवश्यक रहेको समेत जिकिर गर्नु भएको छ । कालि गण्डकी डाईर्भसन प्रति इन्कीत गर्दै उहाँले जनताको मन दुख्ने योजना र जनता खुशि नभए सम्म जनताको पक्षबाट बोल्ने बताउनु भएको छ ।
प्रेस युनियन पाल्पाका सदस्य जिवन तिवारीको स्वागत बाट सुरु भएको कार्यक्रमको अध्यक्षता जिल्ला सदस्य दानस हिस्की मगरले गर्नु भएको थियो भने सन्चालन ईमान सिं रानाले गर्नु भएको हो । कार्यक्रममा उपस्थित सवैलाई सदस्य प्रकास ज्ञवालीले धन्यबाद दिनु भएको थियो ।