रामपुर नगरपालिकामा सञ्चालन हुने सार्वजनिक सवारीको भाडादरको विषयमा छलफल

बाेली खवर   १० कार्तिक २०७८, बुधबार ००:१२

पाल्पा, रामपुर नगरपालिकामा नगर भित्र सञ्चालन हुने सार्वजनिक सवारीको भाडादरको विषयमा छलफल तथा अन्तरक्रिया भएको छ । पछिल्लो समय नगरभित्र सञ्चालन हुने भ्यान तथा अटोले भाडा धेरै लिने गरेको, सडक स्तरउन्नति भए पनि भाडा समायोजन नभएको जस्ता गुनासो बढ्न थाले पछि नगरपालिकाले अन्तरक्रिया गरेको हो ।नगरपालिकाले इलाका प्रशासन कार्यालय रामपुर, ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख, नमस्ते रामपुर यातायात प्रालि र पश्चिम नेपाल बस व्यवसायीका पदाधिकारी, नागरिक तथा पत्रकारहरुको उपस्थितिमा अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियामा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगर भित्रका जनताको सहजताको लागि व्यवसायी र सर्वसाधारणलाई मर्का नपर्ने गरी नियमित सम्पूर्ण यातायातका साधन सञ्चालनका गर्न सहयोग र समन्वयका लागि नगरपालिका तप्पर रहेको बताउनुभयो । पछिल्लो समय अटो र भ्यानमा भाडादर उच्च रहेको, साना सवारीका कारण बस व्यवसायी मर्कामा परेको जस्ता गुनासो बढ्दै गएको भन्दै संवाद र छलफल बाटै समस्या समाधान गर्ने बताउनुभयो ।उहाँले यातायात व्यवसायीहरु संग समन्वय गरेर अटो र भ्यानहरुको लागि क्षेत्र निर्धारण गरी भाडा समायोजन गर्ने, त्यसलाई कार्यान्वयन गर्न र गराउन नियमन गर्ने बताउँदै यातायात व्यवसायीहरुलाई समायोजन सहितको नयाँ भाडादर कायम गरी क्षेत्र निधारण गरेर ड्राफ्ट शुक्रबार भित्र नगर पालिकामा बुझाउन आग्रह गर्नुभयो ।

नगरपालिका र यातायात व्यवसायी विच पुन छलफल हुनेछ ।कार्यक्रममा ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवान भक्त अर्यालले भाडादर समायोजन संगै कार्यान्वयनको लागि टिकटको व्यवस्था संगै नियमन हुनु आवश्यक रहेको बताउनुभयो । नमस्ते रामपुर यातायात प्रालिका कोषाध्यक्ष भोजराज भट्टराई, व्यवस्थापक भेषराज पोखरेलले नगरपालिका र यातायात व्यवसायी विच विगतमा भएको निर्णय संगै यातायात क्षेत्रमा देखिएका समस्याको बारेमा जानकारी गराउनु भएको थियो । उहाँहरुले भाडादर समायोजनको लागि प्रा.लि. पनि तप्पर रहेको जानकारी दिनुभयो । स्थानीय युवाहरु विपुल खनाल, मनिराम पौडेलले यातायातको पहुँचमा सबै नागरिक पुग्न सक्ने गरी भाडादार कायम हुनु पर्ने बताएका थिए । रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले गर्नु भएको थियो ।