
रामपुर, आज कात्तिक कृष्ण आमावश्या अर्थात् गाईतिहारे औंसी तिथि । हिन्दु धर्मावलम्बीहरुले धनधान्यकी देवी लक्ष्मीको पूजाअर्चना गरी यो पर्व मनाउँदैछन् । कात्तिकको जुन साँझ वा अर्धरात्रिकालमा आमावश्या तिथि पर्छ त्यही दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय मान्यता छ ।
तिहारको औंसीको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । शिवरात्रिलाई महारात्रि, कृष्ण जन्माष्टमीको रात्रिलाई मोहरात्रि र नवरात्रको सातौं दिनको रात्रिलाई कालरात्रि भनेजस्तै कात्तिक कृष्ण औंसीको रात्रिलाई सुखरात्रि भन्ने गरिएको हो ।
औंसीको दिन साँझ वा रातिमा लक्ष्मीको पूजा गर्ने, साँझमा दीपमालिका गर्ने र बत्ती बाल्ने गरिन्छ । घरमा लक्ष्मीपूजा गर्नका लागि बाहिरदेखि नै कुनै मण्डप बनाएर लक्ष्मी भित्र्याउने र भित्र विधिवत् रुपमा यसको पूजा गर्ने गरिन्छ ।