मदरसा नुरुल हुदाको तीनकोठे पक्की भवन उद्घाटन सम्पन्न

मोहम्मद अलि   २७ कार्तिक २०७८, शनिबार ०७:४४

पाल्पा, रामपुर नगरपालिका वडा नं ४ इस्लामपुर स्थित मदरसा नुरुल हुदा आधारभूत विद्यालयको ३ कोठे पक्की भवनको उद्घाटन भएकोछ । नेपाल डेभलोपमेन्ट सोसाइटी नेपालको आर्थिक सहयोगमा निर्माण सम्पन्न गरी दातृ संस्थाले उक्त भवन विद्यालयलाई हस्तान्त्रण गरेको हो ।

नेपाल डेभलोपमेन्ट सोसाइटीका प्रतिनिधि तथा अल्हेरा एजुकेशनल सोसाइटी नेपालका अध्यक्ष गुलाम रसुलको अध्यक्षतामा सम्पन्न उद्घाटन तथा हस्तान्त्रण कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरुमा रामपुर नगरपालिका शिक्षा अधिकृत विकल काफ्ले, इस्लामी संघ नेपालका अध्यक्ष खुर्सिद आलम र इस्लामी संघ नेपालका महासचिव अबुल कलाम हुनुहुन्थ्यो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिदै इस्लामी संघ नेपालका महासचिव अबुल कलामले यस भवनको निर्माण पश्चात यस विद्यालयले भोग्दै आएको कक्षाकोठाको अभावलाई न्युनिकरण गरेको बताउँदै नेपाल डेभलोपमेन्ट सोसाइटीले शैक्षिक, सामाजिक, राहत उद्दार, गरिबी उन्मुलन, आयआर्जन मुलक व्यावसाय लागायतका क्षेत्रमा उदाहरणीय कामहरु गर्दै आएको चर्चा गर्नुभयो । विशिष्ट अतिथिको आसनबाट मन्तव्य राख्दै रामपुर नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेले यो धार्मिक विद्यालयका रुपमा संचालित यस मदरसा ले रामपुर नगरपालिका शिक्षा शाखाको मातहतमा रही काम गर्दै आएको बताउँदै नेपाल डेभलोपमेन्ट सोसाइटी ले निर्माण गरेको यो भवनले भौतिक पूर्वाधार विकासमा ठूलो टेवा पुगेको बताउँदै कक्षा ८ सम्म संचालित मदरसाले राम्रो शैक्षिक उपलब्धी हासिल गर्दै आएको र उच्च शिक्षालयको रुपमा देख्न चाहेकोले सोका लािग शुभकामना व्यक्त गर्नुभयो । त्यसै गरी विशिष्ट आतिथिकै आसनबाट मन्तव्य व्यक्त गर्दै इस्लामी संघ नेपालका अध्यक्ष खुर्सिद आलमले न नेपाल डेभलोपमेन्ट सोसाइटी द्धारा निर्मित यस भवनले यस समुदायको जिम्मेवारी अझ बढेको बताउँदै यस विद्यालयसँग आवद्ध वि.व्य.स.पदाधिकारी, शिक्षक, अभिभावक सबैले शिक्षाको विकासमा सधै उदारता देखाउनु पर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले सरकारले गर्नुपर्ने कामहरुमा हातेमालो गर्दै शैक्षिक तथा सामाजिक विकासमा लागेका यस्ता संस्थाहरुको जति गुणगान गए पनि नपुग्ने बताउँदै यस कार्यक्रममा उपस्थित भएर यस विद्यालय र मुस्लिम समुदायलाई नजिकबाट जान्न पाएकोमा प्रसन्नता व्यक्त गर्दै आगामी दिनहरुमा नगरपालिकाले यस विद्यालयलाई गर्दै आएको सहयोगलाई फराकीलो बनाउने बताउनुभयो ।

मदरसा नुरुल हुदा आ.वि.का प्रधानाध्यापक मोहम्मद सलिमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सोही विद्यालयका शिक्षक मोहम्मद अलिले गर्नुभएको थियो ।
भवन समुद्घाटन समारोहका अध्यक्ष नेपाल डेभलोपमेन्ट सोसाइटीका प्रतिनिधि गुलाम रसुल र प्रमुख अतिथि नगरप्रमुखले संयुक्तरुपमा शिला अनावरण गरी उद्घाटन गरिएको कार्यक्रममाको समापन मन्तव्य दिदै कार्यक्रमका अध्यक्षले नेपाल डेभलोपमेन्टसोसाइटी नेपालले गर्दै आएका सामाजिक तथा मानविय विकासका कामहरुलाई आफ्नो उदेश्य अनुरुप संचालन गर्न विगतका दिनहरुमा रामपुर नगरपालिकाले गर्दै आएको सहकार्य प्रति प्रसन्नता व्यक्त गर्दै आगामी दिनहरुमा पनि संस्थासँग समन्वय गरिदिन अनुरोध गर्नुभयो ।

वि.स. २०५३ सालमा स्थापना भइ निरन्तर रुपमा धार्मिक तथा नैतिक शिक्षा का साथै आधुुनिक शिक्षाको ज्योति बाल्दै आइरहेको छ । नेपाल सरकारका अनिवार्य विषयहरुका साथै धर्मिक विषय कुरआन र नैतिक शिक्षाका साथै उर्दु र अरबिक भाषाको पढाइ हुदै आएको छ । छात्राबासको समेत व्यवस्था रहेको यस विद्यालयमा छिमेकी जिल्लाहरु तनहु, स्याङ्जा, नवलपरासी, बारा पर्सा लागयतका जिल्लाहरुबाट गरिब तथा अनाथ वालवालिकाहरु यस मदरसाको छात्राबासमा रही अध्ययन गर्दै आइरहेका छन् । मुठीदान, उस्रा (बालीनालीबाट निकालिने निश्चित अंश) रमजान महिनामा गरिने चन्दा तथा जकात आदीको रकमबाट यस मदरसाले आफ्ना खर्च वहन गर्दै आइरहेको छ । १२ जना शिक्षक शिक्षिका सेवारत रहेको यस विद्यालयमा यस शैक्षिक वर्ष २०७८ मा जम्मा ५८ जना विद्यार्थी होस्टेलमा रही अध्ययनरत रहेका छन् भने जम्मा विद्यार्थी संख्या १९२ रहेको छ ।