आज हरिबोधनी एकादशी पर्व मनाइँदै

बाेली खबर   २९ कार्तिक २०७८, सोमबार ०७:५२

पाल्पा, हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबिस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ ।

चार महिनाअघि अर्थात आषाढ शुक्ल एकादशीको दिनमा आ-आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पिपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ ।

आजको दिन सखरखण्ड, पिँडालु आदि कन्दमुल र फलफूल भगवान विष्णुलाई चढाएर प्रसादको रुपमा खाने गरिन्छ ।

सार्वजनिक बिदा

पाल्पाको रामपुर नगरपालिकाले हरिबोधनी एकादशीको अवसरमा सोमबार सार्वजनिक विदा दिएको छ । हिन्दुहरुको पवित्र चाड हरिबोधनी एकादशी कालीगण्डकी उपत्यकामा भव्य रुपमा मनाईने भएकाले विदा दिईएको रामपुर नगरपालिकाले जनाएको छ ।

आईतबार रामपुर नगरपालिकाकाद्वारा एक सूचना जारी गर्दै विदा घोषणा गरेको हो । कार्तिक २९ गते नगरपालिका र नगरपालिका मातहतका वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था र अन्य सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिएको हो ।

हरिबोधनी एकादशीको अवसरमा पवित्र कालीगण्डकी नदीको किनारमा हिन्दु धर्मावलम्बीहरु स्नान गर्न तथा मेला भर्नका लागि उपस्थित हुने गर्दछन् । विशेष गरी काली नदी किनारको राम्दी, ज्याग्दी, केलादी, बालीघाट लगाएतका स्थानमा विशेष धार्मिक मेला लाग्ने गर्दछ ।