एमाले नेता ठाकुर गैरेले महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने चर्चा

बोली खबर   ७ मंसिर २०७८, मंगलवार १२:५९

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको चितवनमा हुने महाधिवेशनमा पदाधिकारीमा उठ्न चाहने नेताहरुले धमाधम तयारी सुरु गरेका छन् ।

ललितपुरको गोदावरीमा भएको विधान अधिवेशनपछि पार्टीमा सर्वसम्मतिमा पदाधिकारी चयन गर्न सकिने कुरालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बताउँदै आउनु भएको छ । तर, पदाधिकारीमा विभिन्न पदमा आकांक्षी धेरै भएपछि यो सम्भावना कम हुँदै गएको छ ।

यतिमात्र होइन, पार्टीमा पदाधिकारीमा धेरै नेताहरुलाई व्यवस्थापन गर्न पर्ने भएपछि निर्वाचनको बाटोमा नै अध्यक्ष ओली पनि पुग्न सक्ने अनुमान गरिएको छ ।

यसपटक एमाले महाधिवेशनपछि नेतृत्वमा नयाँ अनुहार आउने सम्भावना चाहिँ कम देखिएको छ । माओवादी केन्द्रबाट पार्टी प्रवेश गरेका, यसअघि माधवकुमार नेपाल समूहमा रहेका प्रभावशाली नेताहरुलाई व्यवस्थापनमा कठिनाइ हुनसक्ने भएकाले पनि एमाले पदाधिकारीमा नयाँ अनुहार आउने सम्भावना कम भएको एमाले नेताहरुले नै बताउन थालेका छन् ।

यही कडा प्रतिस्पर्धाबीच एमाले नेता ठाकुर गैरेले महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने चर्चा चलेको छ । आठौं र नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित गैरेले पार्टीलाई थप बलियो बनाउन र सुदृढ गर्द युवा पुस्ता पार्टीको नेतृत्वमा आउनु पर्ने बताउनु भएको छ।

‘युवा वा नयाँ पुस्ता पार्टीको नेतृत्वमा आउँदा पार्टीलाई सुदृढ बनाउन सहज हुन्छ,’ गैरेले बताउनु भएको छ ‘लामो समयदेखि निरन्तर पार्टीमा काम गरिरहेको छु, अब सचिवमा रहेर पार्टीका लागि थप योगादन दिने योजना र चाहना भएकाले सचिवमा उम्मेदवारी दिने तयारी गरेको हुँ ।’

गैरेले आफूले सचिवमा उम्मेदवारी दिनुलाई पार्टीभित्र परिवर्तनका लागि आवाज उठाउन खोजिएको पनि हुने बताउनु भएको छ । ‘पार्टीमा नयाँ आवाज र विचार, समयसापेक्ष परिवर्तन र थप सुधारका लागि हामीले नेतृत्व तहमा पनि दाबेदारी दिनुपर्ने हुन्छ,’ गैरेले भन्नु भयो, ‘त्यसैले मैले सचिवमा उम्मेदवारी दिने तयारी गरेको हुँ, यसको अर्थ अहिलेको नेतृत्वलाई कमजोर भन्न खोजेको चाहिँ होइन है ।’

गैरेले आफ्नो उम्मेदवारीले कम्तिमा पनि पार्टीमा नयाँ ‘भाइब’ सिर्जना हुने र परिवर्तनको पक्षमा आवाज उठ्ने सम्भावना पनि बलियो रहेको बताउनु भएको छ ।
पाल्पा बाट नेकपा एमालेमा ३ जना केन्द्रिय सदस्य रहे पनि एक सदस्य समाजबादिमा लागे सङ्गै २ जना रहनु भएको छ ।