
धनबहादुर ठाडा पाल्पा
– तपाई यात्रा गर्दा वरिपरि कतिको आँखा लगाउनु हुन्छ ? पैदलमार्ग वा सडकमा यात्रा गर्दा तलमाथि हेर्ने गर्नुहुन्छ ? गाउँ घरमा घुम्दै गर्दा देख्नु भएकै छ होला । जहाँ मगर बस्ती हुन्छ , त्यहाँ ठुलठुला रुख अनि त्यसैको आडमा स- सना मन्दिर जस्तो स्थानीय मगर भाषामा ( थापना ) देखिन्छ । जहाँ मगर जातिले भेजा गर्ने चलान छ। ति मन्दिर थापना भएको ठाउँमा धेरै बूढो रुख देखिन्छ । त्यसको दायाँबायाँ अन्य रुख बिरुवा हुन्छ जो कसैले काटदैन। काटेमा ठुलो पाप तथा अनिष्ट हुने धार्मिक विश्वास रहेको पाइन्छ । यसैले गर्दा मगर जातिको भेजाले वन जंगल संरक्षण भएको देखिन्छ ।
हामी कतै यात्रा गर्दा सडकको दायाँबायाँ थोरै क्षेत्रफलमा बाक्लो जंगल देखिन्छ भने त्यहाँ प्रायः मगर जातिले पुजा गर्ने ठाउँ थापना हुन्छ। थापना प्रायः गाउँभन्दा थोरै पर एकान्त ठाउँ भञ्ज्याङ , थुम्का , डाँडामा हुन्छ । जहाँ थापना हुन्छ त्यहाँ वन जंगज रहेको हुन्छ। मगर समुदायमा कुनै सामाजिक लक्ष्य प्राप्त गर्ने उद्देश्यले सङगठित संस्थालाई भेजा भनिन्छ । भेजाले मगर समुदायमा धार्मिक , कृषि , आर्थिक , सामुदायिक एकता र मनोरञ्जन जस्ता कार्यहरुलाई व्यवस्थापन , सञ्चालन र नियन्त्रण गर्छ । समुदायका वरिष्ठ व्यक्तिलाई भेजाका सदस्यहरुको बैठकले मुखियाका रूपमा छनोट गर्छन ।
भेजाले पुराना रीतिरिवाज परिमार्जन र पुजारीको छनोट गर्छ। धेरै जसो गाउँको मुख्य भेजा मंसिरमा हुने गर्दछ। असार र साउनमा पनि गर्ने चलान छ। भेजामा बनारी र बराजुको पुजा गरिन्छ। यो पुजा बुधबार र शुक्रबारमा मात्रै गरिने चलान रहेको छ। बनारी र बराजुको पुजामा सुंगुर र कुखुराको मात्रै बाली चढाउने गरिन्छ। त्यसैले पनि सबै मगर समुदायका परिवारले सुंगुर पालेको पाइन्छ। भेजाको दिन आइमाई मान्छेले बिहानै उठी घर लिपपोत गरिन्छ। लोग्ने मान्छेहरु बिहानै पुजा गर्न थापनामा जान्छन। सबै परिवारले आफ्ना नातापाता कुटुम्ब र आफन्तलाई बोलाउने गरिन्छ । भेजाको दिन कसैले पनि मेलापात तथा काम गरेको पाइन्न। समुदाय र समुदायका सदस्यहरुलाई फाइदा पुर्याउने यस्ता परम्परा र प्रचलनको संरक्षण गर्नु हामी सबैको दायित्व रहेको देखिन्छ ।