मृगौला पीडित बादल रानाको लागि रकम हस्तान्तरण

बाेली खबर   १९ मंसिर २०७८, आईतवार ०५:२१


पाल्पा – निस्दीका मृगौला पीडित बादल रानालाई सहयोग रकम हस्तान्तरण गरेको छ। निस्दी आवाज युवा सञ्जालले सामाजिक सञ्जाल मार्फत संकलन गरेको रकम हस्तान्तरण गरेको हो। अप्ठ्यारोमा हामी सँगसँगै अभियान मार्फत सञ्जालले बादल रानाको लागि जम्मा १३ लाख ४९ हजार ७ सय ७० रुपैयाँ संकलन गर्न सफल भएको छ। सहयोग रकम गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले रानाका बुवा भक्त बहादुर रानालाई एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको हो ।

रकम हस्तान्तरण गर्नुहुँदै अध्यक्ष सारुले स्थानीय सरकारले गर्न नसकेको काम निस्दी आवाज युवा सञ्जालले गरेकोमा खुसी व्यक्त गर्नुभएको छ। साथै सारुले बिरोधले मात्रै समस्या समाधान नहुने बताउनुहुँदै सकारात्मक सुझाव सल्लाहको अपेक्षा गरेको बताउनुभएको छ। यसरी सामाजिक सञ्जाल मार्फत धेरै ठूलो रकम संकलन गरेर रानालाई सहयोग पुर्‍याउनु हुने निस्दी आवाज तथा सबैलाई बालहित माध्यमिक विद्यालय सहलकोटका शिक्षक खुम बहादुर रानाले धन्यवाद व्यक्त गर्नुभएको छ। रानाको मृगौला प्रत्यारोपण गर्न घरमा आर्थिक अभाव रहेको शिक्षक रानाले बताउनुभएको छ।

निस्दी गाउँपालिका – २ , सहलकोटका १८ वर्षीय बादल रानाको दुबै मृगौला फेल भई हाल गौतम बुद्ध सामुदायिक मुटु हस्पिटल दायोलासिस सेन्टर बन्दीपोखरा पाल्पामा उपचाररत हुनुहुन्छ । बालहित माध्यमिक विद्यालय सहलकोटमा १२ कक्षामा अध्यनरत रानाको अन्य शारीरिक अवस्था सामान्य रहेको छ। सञ्जालका सल्लाहकार तथा अभियानका संयोजक अनुराग सुनारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मोम बहादुर सोमैले गर्नुभएको हो।