
पाल्पा, नेपाल औषधी व्यवसायी संघ क्षेत्रीय समिति रामपुर पाल्पाको कार्यालय समुद्घाटन उट्घाटन तथा अधिवेशन सम्पन्न भएको छ । होटेल न्यू श्रीनगरको सभा हल बेझाँडमा कार्यक्रम गरी कार्यालय उट्घाटन गरिएको हो ।
कार्यालयको समुद्घाटन गर्दै नेपाल औषधी व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष सुनिल श्रेष्ठले तीन तहका सरकारले निर्माण गरेको कानुनहरु बाझिदा व्यवसायमा समस्या परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले निर्माण गरेको कानुनहरु एक आपसमा बाझिएकाले व्यवसायमा समस्या भएको छ । साथै पछिल्लो समय संघिय, प्रदेश र स्थानीय तहलाई छुट्टाछुट्टै अधिकार प्रदान गरे पनि विज्ञहरु नहुँदा व्यवसायीहरु औषधी व्यवसायी मर्कामा परेका छन् ।’ श्रेष्ठले अनुगमन गर्ने निकाय एउटै हुने पर्ने भन्दै यसका लागि औषधी व्यवसायी संघ निरन्तर लाग्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘औषधी व्यवसायको अनुगमन हुनु पर्छ । तर धेरै निकायले होईन विज्ञ सहितको एउटै हुनुपर्छ । यसका लागि निरन्तर खबरदारी गर्दै आएका छौं ।’ उहाँले सरकार विकासमा सहकार्य गर्न संघ सदा तयार रहेको बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कोभिडको महामारीमा औषधी व्यवसायीहरुले दिएको योगदानको प्रशंसा गर्दै स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि नगरपालिका साथमा रहेको बताउनुभयो । थापाले नियमित स्वास्थ्य परिक्षणका लागि नागरिकमा सचेतना जगाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयोे, ‘हाम्रो समाजमा सामान्य विरामी परेमा वेवास्ता गर्ने र जटिल समस्या देखिए पछि मात्र स्वास्थ्य संस्था जाने प्रवृति बढ्दो छ । यसका लागि उपचार संगै स्वास्थ्यकर्मी तथा औषधी व्यवसायीहरु सचेतना जगाउनु आवश्यक देखिन्छ ।’
नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञावलीले स्वास्थ्य सेवा विशिष्टिकृत सेवा भएकाले अन्य व्यवसायको दृष्टिकोणले हेर्दा समस्या भएको बताउनुभयो । उहाँले औषधी व्यवसायको नियमित अनुगमन आवश्यक रहेको तर विज्ञ सहितको टोलीले अनुगमन गरेमा मात्र प्रभावकारी हुने बताउनुभयो । उहाँले सरकारले निती नियमहरु बनाउँदा अनुभवी व्यवसायीहरुलाई सम्मान गर्ने र नयाँलाई स्वागत गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले नगरले स्वास्थ्य क्षेत्रलाई ध्यानमा राख्दै पारित गरेका ऐनहरुको बारेमा जानकारी दिदै नगरमा नसर्नेरोगको जटिलता बढ्दै गएकाले हामी सरकारी संगै निजी क्षेत्र पनि सचेतनामा लाग्ने समय आएको बताउनुभयो । उहाँले नगर भित्र निशुल्क सेवा दिने स्वास्थ्यकर्मी सहितका स्वास्थ्य संस्थाहरु भएपनि प्राईभेट क्षेत्रमा अतुलनिय सहयोग मिलेको बताउनुभयो ।
रामपुर उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष रुद्र नारायण श्रेष्ठले रामपुर क्षेत्रमा सडक पूर्वाधारका कारण वर्षादमा सेवा लिन समस्या भए पनि निजी स्वस्थ्य संस्थाले दिएको योगदानको प्रशंसा गर्नुभयो । औषधी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष सुरज भट्टराईले रामपुर सम्भावित क्षेत्र रहेको र औषधी व्यवसायीहरु बढ्दो क्रममा रहेकाले कार्यालय स्थापना गरिएको बताउनुभयो ।
रामपुर आयुर्वेद अस्पतालका वरिष्ठ कविराज चेमन प्रकाश पोखरेलले औषधी व्यवसाय मानिसको जीवन संग प्रत्यक्ष सरोकार राख्ने भएकाले हेलचेक्राई नगरी सेवामा लाग्न अनुरोध गर्नुभयो । नेपाल औषधी व्यवसायी संघ क्षेत्रीय समिति रामपुरका सल्लाहाकार राजु प्रसाद श्रेष्ठले रामपुर सुविधा सम्पन्न अस्पताल भन्दा बाहिर रहेकाले जोखिम लिएर काम गर्नु पने अवस्था रहेको बताउँनुभयो । उहाँले कानुनको कारण औषधी बेच्न पाउनेले लेख्न नपाउने, लेख्न पाउने बेच्न नलपाईने अवस्था रहँदा समस्या कायम नै रहेको बताउँदै नियम अनुसार सजग भएर काम गर्न आग्रह गर्नुभयो । नेपाल औषधी व्यवसायी संघ पाल्पाका अध्यक्ष रामलाल श्रेष्ठले तानसेन बाट सबै तिर समेट्न सम्भव नभएकाले रामपुरमा कार्यालय स्थापना गरिएको बताउनुभयो ।
कार्यक्रमको अवसरमा रामपुर क्षेत्रमा लामो समय देखि सेवा दिएका औषधी व्यवसायीहरु केशव खनाल, राजु प्रसाद श्रेष्ठ, कृष्ण बहादुर फाल, झविलाल पाठक र शंकर अधिकारीलाई दोसला ओढाई सम्मान गरेको थियो । नेपाल औषधी व्यवसायी संघ पाल्पाका अध्यक्ष रामलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम, नेपाल औषधी व्यवसायी संघ क्षेत्रीय समिति रामपुरका सल्लाहकार खेमनारायण काफ्लेको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन सहसंयोजक इश्वरी प्रसाद बिसीले गर्नु भएको हो ।
पाल्पा, निरोज श्रेष्ठ (राजकुमार)को संयोजकत्वमा नेपाल औषधी व्यवसायी संघ क्षेत्रीय समिति रामपुरको नयाँ कार्यसमिति गठन भएको छ । रामपुरमा सम्पन्न प्रथम अधिवेशनले श्रेष्ठको संयोजकत्वमा नौ सदस्य नयाँ कार्य समिति गठन गरेको हो ।
समितिको सहसंयोजकमा इश्वरी विसी, नारायण प्रसाद श्रेष्ठ, सचिवमा विष्णु प्रसाद रेग्मी, कोषध्यक्षमा शशि खनाल रहनु भएको छ । त्यस्तै सदस्यहरुमा मञ्जु राना, लोकनाथ गौतम, चन्द्र बहादुर खण्डलुक र शिव न्यौपाने रहनु भएको छ । त्यस्तै अधिवेशनले समितिको सल्लाहाकारमा राजु प्रसाद श्रेष्ठ, खेम नारायण काफ्ले र लक्ष्मण विकलाई चयन गरेको छ ।