
पाल्पा, उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर–६ विजयपुर पाल्पाको आठौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले विहिबार दरैठाँटी माध्यमिक विद्यालयको सभाहल विजयपुरमा कार्यक्रम गरी साधारण सभा सम्पन्न गरेको हो।
कोषाध्यक्ष सुर्य प्रसाद लम्सालको स्वागतबाट सुरु भएको कार्यक्रममा उट्घाटन नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले गर्नु भएको हो । नगर प्रमुख थापाले बोल्दै नागरिकको आर्थिक सम्बृद्धिका लागी संस्थाले खेलेको भुमिकाको प्रसंशा गर्दै शेयर सदस्यहरुलाई ऋणको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले सहकारी संस्थाले उत्पादनशिल क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको भन्दै उद्यमशिलतामा जोड दिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले वडा भित्रको आर्थिक विकासमा उज्यालो बचत तथा ऋण सहकारीले नयाँ आयाम थपेको बताउनुभयो । कार्यक्रममा अन्धकारमुक्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटा , संस्थाका सल्लाहाकार कृष्ण कुमार अर्याल, शेयर सदस्य ओम प्रकाश रेग्मी र शारदा आचार्यले बोल्दै संस्थाको प्रगतिको कामना सहित सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष बालकृष्ण लम्सालले करिब ५ करोड रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन सहितको वार्षिक प्रगतिविवरण प्रस्तुत गर्नु भएको थियो ।लेखा संयोजक पुरुषोत्तम ढकालले लेखा प्रतिवेदन, ऋण उपसमिति संयोजक कृष्ण प्रसाद अर्यालले ऋण निति प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न विधामा शेयर सदस्यहरुलाई सम्मान सहित पुरस्कृत गरेको थियो । साधारण सभाका अवसरमा एसईईमा उत्कृष्ट विद्यार्थी शिक्षा पंगेनी , आकाक्षा अर्याल , सम्झना ढकाल र प्रज्वल रेग्मी, ज्येष्ठ सदस्य ईन्द्र बहादुर शाही, असल ऋणी पहल सिं आले र असल बचत कर्ता हरि प्रसाद ढकाललाई पुरस्कृत गरेको छ । सहकारी संस्थाका अध्यक्ष बालकृष्ण लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव ईश्वर अधिकारीले गर्नु भएको बासुदेब ढकालले जानकारी दिनु भएको छ ।