अपाङ्गता भएका व्यक्तिहरुको लागि रामपुरमा हस्तकलाको सामाग्री निर्माण तालिम सुरु

बोली खबर   २३ पुष २०७८, शुक्रबार ०६:१५

पाल्पा रामपुर अपाङ्गता भएका व्यक्तिहरुको लागि रामपुर नगरपालिकामा बाँस द्वारा बन्ने हस्तकलाको सामाग्री निर्माण सम्बन्धी १५ दिने तालिम सुरु भएको छ । सीप सिकाई फरक क्षमता भएका व्यक्तिहरुको आर्थिक स्तर सुधार गर्नुका साथै आत्मनिर्भर बनाउने लक्ष्यका साथ रामपुर नगरपालिकाले तालिम सुरु गरेको हो ।

तालिमको उट्घाटन रामपुर नगर पालिका का नगर प्रमुख रमण बहादुर थापा रहनु भएको हो ।प्रमुख अतिथि थापाले बोल्दै अपाङ्गता भएका व्यक्तिहरुले अवसर पाएमा विशिष्ट प्रकृतिका काम सम्पन्न गर्ने सक्ने बताउँदै क्षमता अनुसारको सीप सिकाउन तथा उनीहरुको संरक्षणको लागि नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले तालिमलाई विशेष ध्यान दिन आग्रह गर्दै उत्पादन भएका हस्तकलाका सामाग्रीको बजारिकरणमा पनि नगरपालिकाले साथ दिने बताउनुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले फरक क्षमता भएका व्यक्तिहरुको क्षमता अनुसार हस्तकलाको सामाग्रीको सम्भावना देखेर तालिम सुरु गरिएको बताउनुभयो । सबैको साथ र सहयोग पाएमा फरक क्षमताका व्यक्तिको प्रतिभा थप उचाईमा पुग्ने बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले प्रतिवद्ध भएर तालिमका कुरा सिक्न आग्रह गर्दै फरक क्षमताका व्यक्तिहरुलाई आवश्यकता अनुसार अन्य तालिम पनि सञ्चालन गर्ने बताउनुभयो ।

उपप्रमुख विष्णु देवि घिमिरे आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महिला शाखाका प्रमुख पुजा परियारले गर्नु भएको हो । कार्यक्रममा नगर स्तरिय अपाङ्गता संरक्षण समितिका संयोजक युवराज रेग्मी र प्रशिक्षक कमल प्रसाद आचार्यले नगरपालिकाले चालेको कदमको प्रशंसा गर्दै तालिम सफलताको शुभकामना दिनुभयो ।कृषि सेवा केन्द्रको सभाहलमा भएको तालिममा रामपुर नगर भित्रका अपाङ्गता भएका व्यक्ति र पूर्ण अपाङ्गता भएका व्यक्तिका अभिभावक गरी २० जनाको सहभागीता रहेको छ । तालिम आगामी माघ ६ गते सम्म सञ्चालन हुने तालिममा बाँसको फुलदानी, फोटो फ्रेम, टेवल लगाएतका विभिन्न सामाग्री तयार गर्न सिकाईने जनाएको छ ।