आज ६१ जिल्लामा एमाले अधिवेशन, पाल्पामा पूर्व अर्थमन्त्री बिष्णु पाैडेलले उद्घाटन गर्ने

बाेली खबर   २३ पुष २०७८, शुक्रबार १०:३२

पाल्पा, नेकपा (एमाले)ले आज देशका ६१ जिल्लामा अधिवेशन गर्दैछ । एमालेका अध्यक्ष केपी ओलीले बिहान ११ बजे जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् ।
नेकपा एमाले पाल्पाको नवौें अधिवेशनकाे उद्घाटन समाराेहमा पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पाैडेल आउने  नेकपा एमाले माथगढीका अध्यक्ष तेज घर्तिमगरले बताउनु भएकाे छ । तानसेन नगरपालिका-९ तिन्टीआँप मदनपोखरामा हुने नवौँ अधिवेशनको सम्पूर्ण तयारी पूरा भएकाे एमाले पाल्पाले जनाएको छ । अधिवेशनका लागि पाल्पाका सबै वडा तथा पालिकाबाट प्रतिनिधि छनौटको काम भई सकेको नेकपा एमाले पाल्पाले जनाएको छ ।

केन्द्रीय स्तरका नेताहरूले सहमतिमै नेतृत्व चयन गर्ने बताइरहेपनि आकांक्षी बढी देखिएपछि नेतृत्वमा सहमति हुने सम्भावना कम छ । पार्टीभित्र बिग्रन नहुने गरी सहमतिमै नेतृत्व चयन गर्ने तयारी गरेको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ठाकुर गहिरेले बताउनुभयो ।
जिल्लाका पदाधिकारीमा समेत दुईभन्दा बढी आकांक्षी देखिएका छन् । पदाधिकारीसहित एक सय पाँच जनाको जिल्ला कमिटीका लागि समेत अकांक्षी तेब्बर बढी छन् । यसअघि पार्टीमा विभाजन रोक्नका लागि चार सय जनाको जिल्ला समिति बनाइएको थियो । अहिले उक्त समितिमा रहेका सदस्य सबैजसो जिल्ला समितिमा आउन अकांक्षी छन् । नेतृत्व सहित सहमति नभए निर्वाचन हुने नेताहरूले बताएका छन् । जिल्ला अधिवेशनका लागि सात सय ८० जना प्रतिनिधि चयन भइसकेको प्रचार प्रसार तथा प्रकाशन विभागका प्रमुख गुराँस आत्रेयले जानकारी दिनुभयो ।