रामपुरमा योगहल उद्घाटन

बा‍ेली खबर   २ माघ २०७८, आईतवार १२:१५

पाल्पा, रामपुर नगरपालिका ७ किसानबारीमा योग हल निर्माण भएको छ । रामपुर नगरपालिका, विभिन्न समिति र स्थानियहरुको सहयोगमा हल निर्माण भएको हो । सातौं राष्ट्रिय योग दिवसको अवसरमा योग सप्ताहका विच योगहलको शनिबार उट्घाटन गरिएको छ ।
हलको उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले निरोगी र स्फुर्तिको लागि योगको महत्वपूर्ण रहेको बताउनुभयो । पछिल्लो समय विलासिताका साधनको प्रयोग संगै अल्छीपना र विभिन्न रोगहरु उत्पन्न भैरहेको भन्दै नगर प्रमुख थापाले योगले यस्ता समस्या समाधानमा ठूलो सहयोग गर्ने बताउनुभयो ।

ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवान भक्त अर्यालले सिद्ध प्राप्तिको लागि सुरु भएको योग पछिल्लो समय शारिरीक र मानसिक स्वास्थ्यको लागि अपरिहार्य बनेको बताउनुभयो । उहाँले भवन निर्माण संगै यसको प्रयोग र दिगोपनामा ध्यान दिन आग्रह गर्नुभयो ।

रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामहरी पाण्डेयले स्वस्थ्य र सुशी जिवनको लागि योग अपरिहार्य रहेको बताउनुभयो । रामपुर नगरपालिका ७ का वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनीले रोग लागेपछि औषधी गर्नु भन्दा रोग लाग्नै नदिनको लागि योग अपरिहार्य रहेकाले वडाले योगहल निर्माणको लागि पहल थालेको र सबैको सहयोगले सार्थकता प्राप्त गरेको बताउनुभयो । उहाँले नागरिकहरुलाई स्वस्थ्य बनाउन नियमित योग अभ्यासको खाँचो रहेको बताउनुभयो ।

कार्यक्रममा योग भवन निर्माण समितिका अध्यक्ष लुकनाथ घिमिरेले खर्च सार्वजनिक गर्दै १४ लाख ८१ हजार ८ सय ४५ रुपैयाँको लागतमा भवन निर्माण भएको जानकारी दिनुभयो । उहाँका अनुसार हल निर्माणको लागि किसानबारी बट्टार खानेपानी तथा सरसफाई आयोजना बाट २ लाख, किसानबारी कार्किडाँडा सामुदायिक वन बाट २५ हजार, जनश्रमदान बाट ५८ हजार २ सय ३ र अन्य बाँकी रकम रामपुर नगरपालिका बाट आर्थिक वर्ष २०७६/०७७ देखि हाल सम्म ३ आर्थिक वर्षमा प्राप्त भएको बताउनुभयो । कार्यक्रमको अवसरमा हल निर्माणमा सहयोग गर्ने संस्था र व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा रामपुर आयुर्वेद शाखाका प्रमुख चेमन प्रकाश पोखरेलले योगको महत्वको बारेमा जानकारी गराउँदै योग दिवसको सन्दर्भ माथि प्रकाश पार्नु भएको थियो । पतंजली रामपुर नगर योग समितिका अध्यक्ष सुदिप गैरेको अध्यक्षतामा भएको कार्यक्रम आयुर्वेद शाखा प्रमुख पोखरेलको स्वागत, पतंजली रामपुर नगर योग समितिका उपाध्यक्ष दोवराज तिवारीको धन्यवाद र सचिव सुर्य प्रसाद श्रेष्ठको सञ्चालनमा भएको हो । ‘सर्वाङ्गिण विकासका लागि योग’ भन्ने नाराका साथ मनाईएको योग दिवस अन्तर्गत हलमा अहिले पतंजली रामपुर नगर योग समिति र रामपुर नगरपालिका आयुर्वेद शाखाको संयुक्त आयोजनामा योग सप्ताह चलिरहेको छ ।