राष्ट्रिय सभाका १९ पदमा आज निर्वाचन हुदै

बाेली खबर   १२ माघ २०७८, बुधबार १०:१३

काठमाडौं । राष्ट्रिय सभामा एक महिनापछि रिक्त हुन लागेका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुँदै छ ।

बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले निर्वाचन गर्न लागिएको हो । सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

त्यसैले प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि निर्वाचन हुन लागेको हो ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार सातवटै प्रदेशका आठ मतदान स्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ९ दलका ४३ जना उम्मेदवार छन् ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यहरु र स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले भाग लिन पाउँछन् । सातै प्रदेशमा कूल मतदाता २०२५ कायम छन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रंगको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् ।