दमकडालाई इन्टरनेशनल स्कुल अवार्ड

बाेली खबर   १२ माघ २०७८, बुधबार १३:३७

पाल्पा । दमकडा माध्यमिक विद्यालय पाल्पाले इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेको छ ।
सामुदायिक विद्यालयहरुमा नमूना कार्य प्रदर्शन गर्दै आएको र उत्कृष्ट नतिजा दिने गरेको दमकडा माध्यमिक विद्यालयले ब्रिटिस काउन्सिलले प्रदान गर्ने इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गरेको हो । यो अवार्ड २०२०–०२३ का लागि प्राप्त भएको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले बताउनुभयो । विद्यालयलाई उत्कृष्टस्तरको मान्यता दिन यो अवार्ड दिने गरिन्छ ।

सिकाइ उपलब्धी बढाउन र सिकाइलाई समृद्ध बनाउने योजनाले ब्रिटिस काउन्सिलले यो अवार्ड प्रदान गर्दै आएको छ । यो अवार्ड निजी विद्यालयहरुले प्राप्त गरिरहेका भए तापनि पाल्पामा सामुदायिक विद्यालयतर्फ दमकडा माध्यमिक विद्यालयले पहिलो पटक पाएको हो । विद्यार्थी तथा शिक्षकलाई सिकाइमा नयाँ दृष्ट्रिकोण प्रदान गरी विश्वमा काम गर्न सक्ने सीप विकास गराइएको छ

विद्यालयका सहायक प्रधानाध्यापक तथा कोअर्डिनेटर होत्रीराज ढुंगानाले अवार्ड दिलाउन स्थानीय साझेदार विज्डम बोर्डिङ स्कुल, मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था, माण्डव्य मन्दिर व्यवस्थापन समिति, कृषि सेवा केन्द्र दमकडालाई परियोजना कार्यमा साझेदारी गरेकोमा धन्यवाद दिनुभयो । ब्रिटिस काउन्सिलको यो कार्यक्रम अहिले विश्वका ३१ देशमा लागू छ । विश्वका २ सय ६७ विद्यालयले यो अवार्ड प्राप्त गरिसकेका छन् । याे इन्टरनेशनल स्कुल अवार्ड रुपन्देहीको कालिका माध्यमिक विद्यालय र गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालयले पनि प्राप्त गरेका छन् ।