
पाल्पा । जिल्लाको माथागढी गाउँपालिकामा अवस्थित खहरे खाेलामा (सुज्जर खाेला) पक्की पुलकाे शिलान्यास भएकाे छ । लुम्बिनी प्रदेशका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीद्वारा बुधबार शिलान्यास गरिएको छ।
उक्त शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् लुम्बिनी प्रदेशका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय रमा घर्तीले आफू यहीँ गाउँपालिकाको प्रदेश प्रतिनिधिको रुपमा हाल प्रदेश सरकारमा रहेकाले यस्ता विकास निर्माणकार्यको ध्यान आफ्नो गाउँपालिका र गृहजिल्लामा रहेको बताउदै यस्ता विकास निर्माणका कार्यमा आफ्नो पक्षबाट प्रदेश सरकारमा निरन्तर पहल गर्ने जानकारी समेत दिनुभयो।
उक्त पक्की पुल २ करोड ७८ लाख ७१ हजार ८५४.०८ बराबरको लागतमा प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो। सोही क्षेत्रमा पुल नभएकै कारण वर्षातको समयमा बाँस्टारी-झडेवा- गाेठादी- रहवास सवार गर्ने यात्रुहरूका साथै गाउँपालिकाको कार्यालयसम्म जाने सवारी साधन खोलाका बीच तर्न नसक्दा सडकमा अलपत्र पर्नुपर्ने र जोखिम मोलेर यात्रामा होमिनु पर्ने बाध्यात्मक अवस्था पनि रहदै आएको थियो।
कार्यक्रम माथागढी गाउँपालिका वडा नं.-२, रुप्सेका वडा अध्यक्ष जनक रिजेलको अध्यक्षतामा संचालन भएको कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराई,अतिथिमा सडक पूर्वाधार विकास कार्यालय,पाल्पाका प्रमुख प्रेम बस्याल, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली, वडा नं.- १,चिदिपानीका वडा अध्यक्ष शिव प्रसाद घिमिरे , वडा नं.-३, कसेनीका वडा अध्यक्ष दिपक थापा लगायत रहनुभएको थियो। भने कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले निर्माण भइरहेको उक्त पुल समय सिमामा सम्पन्न गरि यात्रुहरूको जोखिमयुक्त यात्रालाई सहजता दिनुपर्ने अभिव्यक्तिहरु प्रस्तुत गर्नुभएको थियो। साथै उक्त कार्यक्रमको सहजीकरण पत्रकार माया बस्यालले गर्नुभएको थियो।