माथागढी गाउँपालिकाका स्वास्थ्यकर्मी स्वास्थ्य सेवा अभियानमा

रमेश राना   २० माघ २०७८, बिहीबार १४:५९

पाल्पा। जिल्लाको माथागढी गाउँपालिकाका अधिकांश स्वास्थ्य संस्थाहरुले (स्वास्थ्य चौकी ) गाउँपालिका भित्रका विशेष नागरिक (जेष्ठ तथा अपांग) हरुलाई घरमै गई स्वास्थ्य जाँच गरिनुका साथै स्वास्थ्य सेवा प्रदान गरेका छन।
समाजमा रहेका विशेष नागरिकहरुले स्वास्थ्य संस्थामा उपस्थित भइ आफ्नो स्वास्थ्य परिक्षण गर्न नसक्ने अवस्थालाई मध्यनजर गरि आफ्नै निवासमा उपस्तिथि जनाएर स्वास्थ्य सेवा र परामर्श दिँदै आएको माथागढी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख केशव जि.सीले  जानकारी दिएका छन् ।

आफ्नै निवासमा पाएको स्वास्थ्य जाँचपछिको मीठो अनुभव सुनाउँदै माथागढी-७, रहवासका जेष्ठ नागरिक बल बहादुर रानाले- बिगतमा औषधि उपचार र यस्ता उपयोगी स्वास्थ्य परामर्श नपाएरै धेरै व्यक्तीले दु:ख भोग्नुपरेको बताएका छन्।

गाउँपालिका र स्वास्थ्य शाखाको संयुक्त पहलमा गाउँपालिका भित्रका विशेष नागरिकहरु जसमा जेष्ठ तथा वृद्ध, अपांग नागरिक लगायतलाई घर-घरमा पुगी स्वास्थ्य सेवा दिइनुका साथै यहीँ गत कार्तिक महिनाको २६ र २७ गते देशकै प्रतिष्ठित मुटु सम्बन्धि प्रा. डा. भगवान कोइराला र प्रा. डा. अनिल भट्टराईको उपस्थितिमा बृहत नि:शुल्क मुटु परिक्षण शिविर संचालन गरि धेरै भन्दा धेरै नागरिकहरुको नि:शुल्क स्वास्थ्य सेवा र परामर्श प्रदान गरेको जानकारी माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापाले  बताएका छन् । स्वस्थ शरीरले नै स्वस्थ मस्तिष्कको निर्माण गर्ने हुँदा गाउँपालिका भित्रका अधिकांश नागरिकहरुको स्वास्थ्य प्रति जिम्मेवार भइ औसत स्वास्थ्यमा वृद्धि गर्नुपर्नेमा आफूहरू लागेको पनि अध्यक्ष थापाले  बताएका छन् ।