
पाल्पा, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फोकोफन) रामपुर पाल्पाले धर्ना दिई ईलाका प्रशासन कार्यालय रामपुर र रामपुर सव बन डिभिजन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । सामुदायिक वन विरोधी व्यवस्था हटाउन माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघले थालेको कदममा ऐकेबद्धता जनाउँदै स्थानीय महासंघ रामपुरले पनि शुक्रबार विरोधका कार्यक्रम गरेको हो ।
संघीय वन नियमावलीको मस्यौदा र प्रदेश वन ऐनहरूमा समावेश गरिएका सामुदायिक वन विरोधी व्यवस्था हटाउन माग गर्दै शरीरमा कालो पट्टी बाँधेर विरोध जनाएको हो । सामुदायिक वन महासंघ रामपुरका अध्यक्ष मित्रा ढकाल र महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठको नेतृत्वमा व्यानर सहित विरोध ¥याली निकालिएको थियो । टोलीले केही समय रामपुर सव डिभिजन वन कार्यालयको परिसरमा धर्ना समेत दिएको थियो । सरकारले वन नियमावलीको मस्यौदामा वन ऐन २०७६ विपरीत र संविधानले प्रदान गरेको सामुदायिक वनको अधिकारमा असर पर्ने गरी व्यवस्था गरिएको भन्दै महासंघले आन्दोलन गर्दै आएको छ ।
संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सामुदायिक वनमा लगाएको तेहेरो कर हटाउन माग गर्दै महासंघले चरणबद्ध अन्दोलन गर्दै आएको छ । महासंघले आम्दानीको ५० प्रतिशत राज्यलाई कर बुझाउनु पर्ने, बैंक खातामा भएको रकममा २५ प्रतिशत कर बुझाउनु पर्ने माग व्यवहारिक नभएको, वन ऐन अनुसार नियम कानुन बाझिएकाले पछी जारी गरेका सम्पूर्ण करहरु हटाई प्रदेश सरकारले गरेको बैक खाता रोक्का फकुवा गर्न माग गरेको छ ।
जंगली जनावरले घर–घरमै आएर आक्रमण गर्ने, घरपालुवा जनावारमाथी आक्रमण गर्ने, बालीनाली क्षती गर्ने अवस्था बढ्दै गएकोले राज्यले त्यस्ता पिडित व्यक्तिलाई आवश्यक क्षतिपुर्ति सहज तरीकाले दिनुपर्ने वन उपभोक्ता महासंघले माग गरेको सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले बताउनु भयो । उहाँले आन्दोलनको वेवास्ता गर्दै ३ सरकारको कर जारी रहेमा थप आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । महासंघले इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवान भक्त अर्याल, रामपुर सव डिभिजन वन कार्यालयका प्रमुख सुजनराज भण्डारीलाई ८ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश सदस्य विन्दु श्रेष्ठले जानकारी दिनु भएको छ ।