माथागढीमा सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने

रमेश राना   २६ माघ २०७८, बुधबार १४:४७

पाल्पा । जिल्लाको माथागढी गाउँपालिका र मेगा लि. बैंक, माथागढी शाखाको समन्वयमा आ.व. २०७८/७९ को दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता सम्बन्धित वडा कार्यालबाट वितरण गर्ने भएको छ।

सामाजिक सुरक्षा भत्ता पाउने समूह विशेषगरी जेष्ठ नागरिक र अपांगहरुलाई लाइनमा बस्नुपर्ने पिडादायी अवस्था र देशमै अकस्मात बढिरहेको कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरि गाउँपालिका र मेगा बैंकको समन्वयमा सम्बन्धित वडामा स्वास्थ्य मापदण्डको पालना गरि सम्बन्धित वडाबाटै भत्ता वितरण गर्न लागेको जानकारी गाउँपालिका अध्यक्ष सन्तोष थापाले दिनुभयो ।

सामाजिक सुरक्षा भत्ताको लागि पहिलो पटक क्रमशः माघ-२६ गते, वडा नं.-८, बहादुरपुर, २७ गते वडा नं.-७, रहवास, २८ गते वडा नं.-४, झडेवा- देवगीर, फागुन १ गते, वडा नं.-६ गोठादी र फागुन- २ गते वडा नं.- ५, हात्तिलुङ्ग लगायतका वडा कार्यालयमा वितरण गर्ने भएको छ। भत्ताको लागि भत्ता प्राप्त गर्ने समूहले बैंकलाई आफ्नो नागरिकताको फोटोकपीको प्रतिलिपी, मेगा बैंकको चेक बुक र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही परिचय पत्र अनिवार्य रुपमा उपलब्ध गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।