निस्दीका जनप्रतिनिधिद्धारा बुटवल विद्युत कार्यालयमा डेलीकेशन

बाेलीखबर   २७ माघ २०७८, बिहीबार २०:४१

पाल्पा । निस्दी गाउँपालिकाका जनप्रतिनिधी तथा सरोकारवालाहरुको टोली नेपाल विद्युत प्राविधीकरण प्रादेशिक कार्यालय बुटवलमा डेलीकेशन गएको छ । लुम्बिनी प्रदेशका सांसद नारायण आचार्य सहित टोली डेलीकेशन गएको हो ।

निस्दीको साविकको ज्यमिरे, अर्चले, गल्धा, मित्याल, झिरुबास र सहलकोटमा सामुदायिक विद्युत प्रसारण विस्तारको काम अलपत्र रहेको भन्दै चौतर्फी विरोध भएपछि ध्यानाकर्षण गराउन सो टोली प्रादेशिक कार्यालयमा पुगेका हुन् ।

टोलीले कार्यालय प्रमुख नवराज ओझासंग निस्दीमा विद्युतको काम ठेकेदारले गरेका ढिला, सुस्ती, लापरवाही बारे अवगत गराएका थिए । भेटघाटका क्रममा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले ठेकेदारलाई नियमित कार्य गराउन वा सम्झौता रद्द गर्न कार्यालयलाई जोडदार माग गरेका छन् । कार्यालय प्रमुख ओझाले ठेकेदारलाई एक हप्ताको अल्टिमेटम दिएर पत्र पठाउने र त्यसको बोधार्थ गाउँपालिकालाई पठाउने बताए । भेटघाटमा निस्दीमा नेकपा एमालेबाट बिजयी वडाध्यक्ष, समाजसेवी, सरोकारवाला ब्यक्तिहरु तथा पार्टीका जिम्मेवार व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यसअघि लाली गुराँस सामुदायिक विद्युत सहकारी संस्था निस्दी र जयदुर्गे कन्स्ट्रक्सन काठमाडौं बीच सम्झौता भई विद्युत बिस्तारको योजना शुरु भएपनि समयमै काम नहुँदा अझैसम्म निस्दीबासीले विद्युत सेवा उपभोग गर्न पाएका छैनन् ।