माथागढीमा नि:शुल्क शिक्षक सेवा आयोग तयारी कक्षा संचालन

रमेश राना   २ फाल्गुन २०७८, सोमबार ११:१७

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले खुल्ला तर्फको मा.वि., नि.मा.वि. र प्रा. वि. तहको खुल्ला शिक्षक सेवा आयोगलाई मध्यनजर गरि समावेशी समूह/ लक्षित वर्ग अन्तर्गतको आदिवासी जनजाती तथा महिलाहरूको लागि दोस्रो निःशुल्क शिक्षक सेवा आयोग तयारी कक्षा आइतबार देखि वडा नं.-२, रुप्से- दद्रामा शुरु गरेको छ।

पहिलो समूहको कक्षा झडेवामा संचालन भइरहेको छ। माथागढी गाउँपालिकाका अध्यक्ष तथा शिक्षक सेवा आयोग तयारी कक्षा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सन्तोष थापाले मानव संसाधनको विकास जस्तो दरिलो र दिगो विकास अरू हुन नसक्ने भएकाले यसको विकासमा बढी चासो दिन आवश्यक ठानेर तयारी कक्षा प्रशिक्षण शुरु गरिएको बताउनुभयो। साथै माथागढी गाउँपालिकाको पहिचानलाई जोगाउँदै आगामी दिनमा माथागढीका कर्मचारी सरकारी सेवामा बढीभन्दा बढी उत्तीर्ण बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरेको समेत बताउनुभयो।

गाउँपालिकाले निःशुल्क विभिन्न खालको तयारीका लागि प्रशिक्षण कक्षा सञ्चालन गरेको आगामी दिनमा बैंकिङ, नेपाल प्रहरी, नेपाली सेनामा प्रवेश गर्नका लागि गर्नुपर्ने सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु सञ्चालन गर्ने पनि सोच बनाएको समेत बताउनुभयो । गाउँपालिकाकी उपाध्यक्ष तथा कार्यक्रमको विशिष्ट अतिथि निर्मला भट्टराईले गाउँपालिका भित्रका शिक्षित युवायुवतीलाई लक्षित गरिएको यस अभियान मार्फत शैक्षिक बेरोजगारी हटेर जाने दाबी गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा कार्यक्रमका विशिष्ट अतिथि दिनेश ज्ञवालीले गाउँपालिका भित्र रहेका शैक्षिक बेरोजगार जनशक्तिका लागि लोक सेवा आयोग/ शिक्षक सेवा आयोगको तयारीका लागि टाढा–टाढा जानुपर्ने बाध्यता हटेर जानुका साथै कोरा किताबी स्वध्यानले मात्र आयोगको तयारी अपुग रहने भएकोले यस्ता खाले तयारी कक्षाले प्रशिक्षार्थीहरुलाई बलियो अधार हुने समेत बताउनुभयो । उक्त कार्यक्रममा वडा अध्यक्ष तथा गाउँ कार्यपालिकाका सदस्यहरुका साथै तयारी कक्षामा सहभागी हुने समावेशी समूहका परिक्षार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रम वडा नम्बर-२, का वडा अध्यक्ष जनक रिजेलको अध्यक्षताबाट संचालन भएको कार्यक्रमको उद्घोषण शिक्षा कार्यक्रम संयोजक अशेष भट्टराईले गर्नुभएको थियो।