
पाल्पा, नगर गौशाला रामपुर नगरपालिका ६ तातोपानी धाममा ३ दिने भगवान शिव तथा गौ कथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । नगर गौशाला रामपुर पाल्पाको तेस्रो बार्षिक उत्सवको अवसरमा फागुन १२ देखि १४ गते सम्म प्रवचन कार्यक्रम गरीएको हो ।
तालपोखरा संरक्षण समितिका अध्यक्ष सागर प्रसाद देबकोटाको स्वागत बाट सुरु भएको कार्यक्रममा नगरप्रमुख रमण बहादुर थापा प्रमुख अतिथि रहनु भएको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले गौशालाले गौमाताको संरक्षण संगै गाईको महत्वको बारेमा चेतना जगाउने कार्य गरेको बताउनुभयो । उहाँले गौशालाको व्यवस्थापनको लागि नगरपालिकाले पनि पहल गर्दै आएको बताउनुभयो ।
प्रवचन कार्यक्रममा स्कन्द पुराण अन्र्तगत ब्रह्मोत्तर खण्डको भगवान शिव तथा गौ कथा पण्डित दिननाथ भण्डारी ज्यूको मुखार विन्द बाट प्रवचन भएको थियो । जस अन्तर्गत दैनिक बिहान ८ बजे देखि पाठपारायण, ११ बजेदेखि ४ बजेसम्म कथा प्रबचन र भजन कृतन भएको थियो । ३ दिने प्रवचनको शनिबार वार्षिक उत्सव समारोहका विच समापन गरिएको छ ।
कार्यक्रममा डाक्टर कृष्ण प्रसाद घिमिरेले गाईको महत्वको बारेमा जानकारी गराउनु भएको थियो । नगर गौशाला सञ्चालन समितिका अध्यक्ष हुमनाथ न्यौपानेले गौशालामा भएका गतिविधि र वर्तमान अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।
त्यस्तै कोषाध्यक्ष चण्डीप्रसाद खनालले १ करोड ५६ लाख ६६ हजार बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वार्षिक उत्सवको अवसरमा गौशालाको प्रारम्भिक चरणमा सेवा गर्ने गौसेवकहरु गिता घिमिरे, केशरी शर्मा र मिना पाठकलाई सम्मान गरेको छ । नगर गौशाला सञ्चालन समितिका अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षतमा भएको कार्यक्रममा नगर गौशाला सञ्चालन समितिका सचिव बासुदेव ढकालको सञ्चालनमा भएको हो ।


