
पाल्पा। एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाले ४० औं राष्ट्रिय मगर एकता दिवस तथा १४ औं वार्षिक उत्सव मनाएको छ । मगर संस्कृतिको मौलिक झाँकी प्रदर्शन सहित दिवस मनाएको हो ।
कार्यक्रमको उट्घाटन गर्दै संविधान सभा सदस्य, पूर्व राज्यमन्त्री एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले विश्वमा देशको शिर उच्च बनाउन मगर समुदायको ठूलो योगदान रहेको उल्लेख गर्दै अब संस्कृतिको संरक्षणका लागि विचार भन्दा माथि उठ्नु पर्नेमा जोड दिएका छन् ।
पुनले मगर समुदायको संस्कृति र पहिचानको रक्षाको लागि निर्णायक तहमा मगर समुदायलाई पु¥याउनु पर्ने बताए ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले संस्कृतिको रक्षाको लागि युवा पुस्तालाई जागरुक गराउनु आवश्यक रहेको बताएका छन् ।
रामपुर नगरपालिका २ का वडा अध्यक्ष तारा बहादुर थापाले मगर भाषा लोप हुने अवस्थामा पुगेको भन्दै संरक्षणको सुरुवात आफैबाट गर्नु पर्ने बताए । कार्यक्रममा नेपाल मगर संघ रामपुरका अध्यक्ष थर्क बहादुर राना, मुस्लिम समाज पाल्पाका अध्यक्ष हजिल दिन मिया, एकिकृत मगर उत्थान समाजका सल्लाहाकार, क्याप्टेन रोमन बहादुर राना, अक्षयकोष संयोजक क्याप्टेन देव बहादुर थापा मश्राङ्गी, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय अध्यक्ष विष्णु बहादुर थापा, नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य विक्रम सिं थापाले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा समुदाय भित्रका जेष्ठ सदस्य मन बहादुर थापा र चुनकुमारी राना, कक्षा १२ मा मगर समुदायको तर्फ बाट उत्कृष्ट अंक ल्याउन सफल विद्याथी जमुना थापा र सुजन सुनारीलाई सम्मान गरेको थियो । कार्यक्रममा मगर समुह अन्तर्गत रहेका १७ वटै उपसमुहले मगरी भेषभुष, मौलिक कला संस्कृति सहित बेझाँड बजारमा झाँकी¥याली प्रदर्शन गरेका थिए । समुहहरुले कौरा, झ्याउरे, साजैजो, मारुनी लगाएतका मौलिक झाँकीहरु प्रदर्शन गरेका थिए । साथै घिरिङ गाउँपालिका २ काठेकोट तनहुँको कोट नाहूँथान नौमति मगर बाजा समुहको पनि प्रस्तुति रहेको थियो ।
कार्यक्रममा भ्वाईस अफ नेपालका फष्ट रनरअप तारा श्रीष मगर, गायक तथा मोडल रमेश बाबु थापा, लोकदोहोरी गायक विष्णु सिंजाली मगर, नायिका श्रजना मगर सहित डि एण्ड जि कला केन्द्रको प्रस्तुति समेत रहेको थियो । कार्यक्रममा मगरी खानाका परिकारहरु बटुक, बंगुरको मासु लगाएतका परिकार विक्री वितरणका लागि राखिएको थियो ।
एकिकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष राम बहादुर हिस्की थापाको अध्यक्षतामा भएको कार्यक्रम समाजका सह–अध्यक्ष नरेन्द्र कुमार जर्घाको स्वागत बाट सुरु भएको थियो । सञ्चालन सचिव राम बहादुर राना र कल्पना सोमैले गरेका थिए ।