
पाल्पा, रामपुर नगरपालिका वडा नं. ६ ले पाँच भित्र वडामा भएको विकास निर्माण र सञ्चालन भएका गतिविधिहरुलाई समेटेर तयार गरेको ‘पाँच वर्षे यात्राका पदचापहरु, वडा विकास पुस्तिका–२०७८’ सार्वजनिक गरेको छ ।
आफ्नो कार्यकालको ५ बर्षे यात्रा समेटेर पदचाप निकालिएको हो । स्थानीय तह निर्वाचन संगै जनप्रतिनिधिहरु आए पछि भएका गतिविधि संगै वडाको वर्तमान अवस्था सचित्रण सहितको ‘वडा विकास पुस्तिका’ विमोचन सहित सार्वजनिक गरेको हो ।
शनिबार दरैठाँटी माध्यमिक विद्यालयको सभाहल विजयपुरमा कार्यक्रम गरी पदचाप विमोचन गरिएको थियो । आर्थिक वर्ष २०७४/०७५ देखि २०७८/०७९ सम्मको विकासका गतिविधि समावेश गरेर तयार पारेको पुस्तकको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा र रामपुर ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले विमोचन गर्नु भएको थियो ।
पुस्तक विमोचन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले स्थानीय तहको निर्वाचनको घोषणा पत्र अनुसार नगरले ९० प्रतिशत लक्ष्य हासिल गरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो कार्यकाल अब १ महिना सम्म मात्र छ । २०७४ सालको निर्वाचन पश्चात हामीले लिएका लक्ष्यहरु ९० प्रतिशत पुरा भएको छ । केही संघिय सरकार र प्रदेश सरकार संग माग गरेर सञ्चालन गरिने कार्यक्रम तथा दिर्घकालीन योजनाहरु पुरा हुन बाँकी छन् भन्नु भयो ।’ थापाले वडाले गरेको प्रयासको प्रशंसा गर्दै नगर भित्रका गतिविधिलाई समेटेर नगरपालिकाले पनि जनता सम्म पु¥याउन डकुमेन्ट्री तयार गर्न लागेको जानकारी गराउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य कल्प पौडेलले वडाको बारेमा बुझ्नको लागि पुस्तक महत्वपूर्ण साधनको रुपमा सावित हुने विश्वास व्यक्त गर्नुभयो । नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, रामपुर नगरपालिका ६ का सल्लाहाकार सागर प्रसाद देवकोटाले पुस्तक प्रकाशनले अभिलेख राख्न तथा वडाको चिनारी दिन थप सहज बनाएको बताउनुभयो । सल्लाहाकार सुन्दर प्रसाद देवकोटाले सबैको सकारात्मक सोचले वडाको विकास सम्भव भएको बताउँदै हरेक क्षेत्रको उत्थानको लागि सकारात्मक सहयोग खाँचो रहने उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेस रामपुर ६ का सभापति गोविन्द प्रसाद देवकोटा, नेकपा एमाले रामपुर ६ का अध्यक्ष लोकनाथ ढकाल, राष्ट्रिय जनमोर्चा रामपुर ६ का अध्यक्ष बाबुराम गैरे लगायतले शुभकामना दिनुभएको थियो ।
रामपुर ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले विकासका गतिविधि र सेवालाई थप पादर्शी बनाउन र जनतालाई जानकारी गराउन पुस्तक प्रकाशन गरिएको बताउनुभयो । ‘पाँच वर्षे यात्राका पदचापहरु, वडा विकास पुस्तिका–२०७८’ माथि शहीद बहुमुखी क्याम्पस रामपुरका क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले टिप्पणी गर्नु भएको थियो ।
पुस्तक प्रकाशन समितिका संयोजक लेखनाथ शर्मा मरासिनीले पुस्तक भित्र समेटिएका विषय वस्तुको बारेमा जानकारी गराउँदै आवश्यक सुझाव दिन आग्रह गर्नु भएको थियो । रामपुर ६ का वडा अध्यक्ष एवं पुस्तक प्रकाशन समितिका संरक्षक हुमनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम वडा सदस्य यम बहादुर भुजेलको स्वागत, वडा सदस्य छवि कुमारी वि.क.को धन्यवाद र वडा सचिव बासुदेव ढकालको सञ्चालनमा भएको हो । कार्यक्रमको अवसरमा पुस्तक प्रकाशन समितिका पदाधिकारीहरुलाई वडाले सम्मान गरेको थियो ।

