
पाल्पा । रामपुरमा सम्पन्न प्रथम खुल्ला म्याराथन दौड प्रतियोगिताको उपाधी पुरुष तर्फ राम बहादुर सोमै र महिला तर्फ अञ्जना श्रेष्ठले हात पारेको छ । युवाहरुलाई खेलकुद विधामा आकर्षित गर्नुका साथै रामपुरको पहिचान संगै पर्यटन प्रवद्र्धन गर्ने ध्येयका साथ रामपुर युवा क्लवले आयोजना गरेको दौडमा पुरुष तर्फका उपाधी विजेता सोमैले ३९ मिनेटमा निर्धारित दुरी पुरा गर्नु भएको थियो ।
त्यस्तै पुरुष तर्फ ३९ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै विक्रम ढेंगा द्वितिय र ४० मिनेट १० सेकेण्ड समयमा पार गर्दै दिपक पुन तृतिय हुनु भएको छ । महिला तर्फको उपाधी विजेता अञ्जना श्रेष्ठले ५९ मिनेट ४० सेकेण्ड दुरी पार गर्नु भएको थियो । त्यस्तै महिला तर्फ १ घण्टा २० सेकेण्डमा दुरी पार गर्दै ममता थापा द्वितिय र १ घण्टा ५ मिनेटमा पार गर्दै तारा सिंजाली तृतिय हुनु भएको छ । दौडको लागि ११ किलोमिटर दुरी तय गरिएको थियो । बेझाँड बजार स्कुल रोड बाट सुरु भएको दौड रामपुरका मुख्य बजारहरु परिक्रमा गर्दै बेझाँड चोक आएर टुङ्गीएको थियो ।
सहभागीहरु मध्ये चप्पलको साहारामा भाग लिएर पनि ३९ औं स्थानमा आउन सफल १० वर्षिय बालक गोकुल रानालाई हौसला स्वरुप विभिन्न व्यक्तित्वहरुले नयाँ जुत्ता, नगद उपहारका साथ सम्मान गरेका थिए ।
प्रतियोगिताका दुवै तर्फका विजेता प्रथम, द्वितिय र तृतियलाई क्रमश नगद ७ हजार, ५ हजार र ३ हजार सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । उत्कृष्ट १० भित्र पर्न सफल सहभागीलाई प्रमाण पत्र प्रदान गरिएको थियो । यस्तै सहभागीहरु मध्ये सुरु देखि अन्तिम सम्म दौडमा सहभागी भएका १० वर्ष मुनिका बालकहरु गोकुल राना, दिपसन कंडेल, क्रिमसन भट्टराई र सक्षम कंडेललाई सम्मान गरिएको थियो ।
प्रतियोगिताका विजेताहरुलाई पुस्कृत गर्दै रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवि घिमिरे आचार्यले युवाहरुलाई सृजनशिल बनाउन खेलकुद प्रतियोगिताले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।
क्लवका अध्यक्ष छम बहादुर दरैले युवाहरुलाई खेलकुदमा आकर्षित गर्नुका साथै एकताको संदेश प्रवाह गर्न र रामपुरको पहिचान संगै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ कार्यक्रम गरिएको जानकारी दिनुभयो । प्रतियोगितामा ५ सय भन्दा बढीले सहभागीता जनाएको रामपुर युवा क्लवका सचिव सुन्दर कंडेलले बताउनुभयो । अध्यक्ष दरैंको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य गोविन्द प्रसाद भट्टराईले गर्नु भएको हो ।