
पाल्पा । वैशाख ३० गते देशैभरका हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
आयोगले ६ सय ७६ जना जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतस्तरकालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको हो ।
पाल्पाका १० पालिकामा नियुक्त हुनु भएका निर्वाचन अधिकृतहरुको नामावली र हाल कार्यरत कार्यालयको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको वितरण अनुसार पाल्पाको मुख्य निर्वाचन अधिकृतमा खड्क बहादुर के.सी.लाई नियुक्त गरेको छ ।
पाल्पा जिल्ला अदालतका न्यायाधीश के.सी तानसेन नगरपालिकामा खटिनु हुनेछ । त्यस्तै आयोगले रामपुर नगरपालिकाको निर्वाचन अधिकृतमा श्याम प्रसाद श्रेष्ठ, निस्दी गाउँपालिकामा दुर्गा प्रसाद बस्याल, पूर्वखोला गाउँपालिकामा मधु अर्याल, रम्भा गाउँपालिकामा कृष्ण प्रसाद भण्डारी, माथागढी गाउँपालिकामा मिना अर्याल, बगनासकाली गाउँपालिकमा रवि न्यौपाने, रिब्दीकोट गाउँपालिकमा टिकाराम अर्याल, रैनादेवी छहरा गाउँपालिकामा टोलराज उपाध्याय र तिनाउ गाउँपालिकामा जनार्दन अधिकारीलाई चयन गरेको छ ।
आगामी चैत २९ देखि जिम्मेवारी लागू हुनेगरी नियुक्त गरिएको आयोगले जनाएको छ । नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन व्यवस्थापन अभिमुखीकरण तालिमका लागि ३० चैत गते विराटनगर, धुलिखेल, पोखरा, नेपालगञ्ज तथा २ वैशाखमा जनकपुर, हेटौडा, वुटवल र धनगढीमा तालिमको कार्यक्रम समेत तय गरिएको जनाएको छ ।
निर्वाचन कार्यक्रम अनुरुप उम्मेदवारको मनोनयन दर्ता, मनोनयनउपर उजुरी लिने, उजुरीउपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी हो ।