
एमाले पाल्पाको दोस्रो बैठकबाट के के भयो निर्णय भयो ।
पाल्पा। नेकपा एमाले जिल्ला कमिटी पाल्पाको दोस्रो बैठक मंगलबार तानसेनमा सम्पन्न भएको छ । बैठकले निर्वाचन केन्द्रित भएर काममा गर्न जिल्ला स्तरका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेले बैठकमा प्रस्ताव पेस गर्नुभएको थियो । बैठकमा जिल्लाका १० वटै पालीका कमिटीका अध्यक्षहरूले स्थानीय तहमा भएका पार्टी गतिविधिबारे रिपोर्टिङ गरेका थिए । उनीहरूले यसअघि जितेको पालिका तथा वडामा अत्यधिक मत ल्याउने र पराजित भएका वडा तथा पालिकामा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने दाबी गरेका थिए ।
बैठकमा प्रमुख अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज दलबहादुर रानाले शान्तिपूर्ण संघर्षको अन्तिम रुप निर्वाचन भएकाले तन, मन लगाएर चुनावी प्रचारप्रसारमा लाग्न निर्देशन दिनुभयो । समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन एमालेको जित आवश्यक छ । मुलुकको विकास निर्माण गर्ने दूरदृष्टि योजनाकार एमाले पार्टी भएकाले अमुल्य मत दिएर एमालेका उमेदवारलाई विजयी गराउन आम मतदातासँग उहाँले अपिल गर्नुभयो । अहिले दक्षिणपन्थी पूँजीवादको नेतृत्व गरेको कांग्रेस नेतृत्वको गठबन्धन र मुलुकको विकासका लागि अग्रगामी योजनाका साथ अगाडि बढिरहेको एमालेबीच चुनावी मैदानमा लडाइ हुने रानाले चेतावनी दिए। राष्ट्र र राष्ट्रियताको पक्षमा वकालत गर्ने पार्टी एमाले आगामी निर्वाचनबाट बहुमतसहितको पहिलो पार्टी बन्ने उहाँले ठोकुवा गर्नुभयो ।
पोलिटब्यूरो सदस्य तथा पाल्पाका इन्चार्ज ठाकुर गैरेले टोलटोल र घरघरमा पुगेर एमालेको सरकारले गरेका कामका बारेमा जनतालाई प्रस्ट पार्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले जनता र मुलुकको विकासलाई पहिलो प्राथमिकतामा दिएर काम गर्ने पार्टी एमाले भएको बताउनुभयो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई अर्जुनदृष्टि बनाई जनताको घरघरमा पुगेर भावी योजनाबारे जानकारी गराउँदै एमालेका उमेदवारलाई मत दिनको लागि अपिल गर्न सुझाव दिनुभयो ।
पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले एमाले यो मुलुुकको सशक्त पार्टी भएकाले यसमा गोलवद्ध भएर मुलुकलाई बचाउँन आग्रह गर्नुभयो । ‘सत्ता पक्षले गठबन्धन गरेर प्रतिपक्षको विरुद्ध लाग्नु यो लाजमर्दो कुरा हो’ उहाँले भन्नुभयो ‘जनताले दक्षिणपन्थी अवसरवादका नाइकेलाई ठेगान लगाएरै छाड्नेछन्। एमाले फेरी पहिलो शक्तिको रुपमानै स्थापित हुने छ ।’ बैठकमा केन्द्रीय सल्लाहकार सदस्य झपेन्द्र जिसीले समसामयिक प्रस्ताव पेस गर्नुभएको थियो ।
प्रतिगामी र परमादेशबाट निर्मित पञ्चदलीय सरकारले बिमाको रकम भुक्तानी नगरी जनताले पाउने उपचार सेवाबाट वञ्चित गरेको भन्दै घोर निन्दा गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरी जनताको दैनीक उपभोग्यवस्तुमा चरम महंगी बढाएर ढाड सेक्ने काम गरेको भन्दै आपत्ति प्रकट गरेको छ । दक्षिणपन्थी दिशा विहिन भाषमा फसेको गठबन्धन सरकारलाई परास्त गर्न अग्रगामी परिवर्तनकारी शक्ति नेकपा एमालेमा गोलबन्द भइ लाग्न आम नेपाली जनतालाई आव्हान गरेको छ । मतदाता परिचयपत्रको वैकल्पिक व्यवस्थाको रुपमा नागरिकतालाई मान्यता दिने बैठकले माग गरेको एमाले पाल्पाका सचिव रामजी पोखरेलले बताउनुभयो ।
यस्तै यही चैत २६ र २७ गते वडा बैठक र २९ र ३० गते पालीकास्तरको बैठक बसेर पार्टीकातर्फबाट उमेदवार सिफारिस गर्न निर्देशन दिएको कार्यालय सचिव दीपक विश्वकर्माले बताउनुभयो । पार्टी जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष देवीलाल लामिछानेले स्वागत सचिव रामजी पोखरेलले सञ्चालन गर्नुभएको थियो । बैठकमा पार्टीका केन्द्र, प्रदेश, जिल्ला कमिटीका सदस्य र पालीका अध्यक्षहरूको सहभागिता रहेको थियो ।
