
पाल्पा, रामपुरमा निर्वाचन कार्यालय स्थापना भएको छ ।निर्वाचन आयोगले विहिबार देशै भरका ७ सय ५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रुपमा स्थापना गरेको छ । ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो ।
यता पाल्पाका दशवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन अधिकृतहरू नियुक्ति पत्र लिएर पालिका स्तरमा खटिइएका छन्
यस्तै रामपुर नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालय बेझाँडमा स्थापना गरिएको छ । सरोकारवालाहरुको उपस्थितिमा रामपुर नगरपालिका वडा नं. ५ को कार्यालय भवनको तल्लो तलामा कार्यालय स्थापना गरिएको हो । रामपुर नगरपालिकाका निर्वाचन अधिकृत श्याम प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यालय उटघाटन कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको बताउँदै यसलाई पर्वको रुपमा लिन आग्रह गर्नुभयो । उहाँले नियमित निर्वाचनले पालिकाहरुलाई नेतृत्व प्रदान गर्ने भएकाले मर्यादित र भयरहित वातावरणमा निर्वाचन सफल बनाउनका सबैको सहयोग खाँचो रहेको बताउनुभयो ।
कार्यक्रममा निर्वाचन अधिकृत श्रेष्ठले निर्वाचन आचार संहिता र उम्मेद्वारीको विषयमा जानकारी गराउनु भएको थियो । नगर भित्रका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, इलाका प्रशासन कार्यालयका प्रमुख, सुरक्षा बेस क्याम्प, इलाका प्रहरी कार्यालयका प्रमुख, पत्रकार लगाएको कार्याक्रममा सहभागीता रहेको थियो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन कृषि शाखा अधिकृत रामहरी पाण्डेयले गर्नु भएको हो ।
। जिल्लाका सबै पालिकामा निर्वाचन कार्यालय स्थापना गरेर काम अगाडि बढाइएको निर्वाचन कार्यालय पाल्पाका सूचना अधिकारी कल्पना पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तानसेन नगरपालिका वडा नं ६ को वडा कार्यालय भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत पाल्पाका न्यायधीश एवं मुख्य निर्वाचन अधिकृत खड्ग बहादुर केसीले कार्यालयको उट्घाटन गर्नु भएको थियो । उहाँले सबैको सहयोगमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । जिल्लास्थित राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, पत्रकारहरूको सहभागितामा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको हो ।
पाल्पाको मुख्य निर्वाचन अधिकृत एवं पाल्पा जिल्ला अदालतका न्यायाधिश केसी तानसेन नगरपालिकामा खटिनु भएको छ । त्यस्तै तिनाउ गाउँपालिकाको निर्वाचन अधिकृतमा जनार्दन अधिकारी, निस्दी गाउँपालिकामा दुर्गा प्रसाद बस्याल, पूर्वखोला गाउँपालिकामा मधु अर्याल(खनाल), बगनासकाली गाउँपालिकमा रवि न्यौपाने, माथागढी गाउँपालिकामा मिना अर्याल, रामपुर नगरपालिकामा श्याम प्रसाद श्रेष्ठ, रम्भा गाउँपालिकामा कृष्णप्रसाद भण्डारी, रिब्दीकोट गाउँपालिकमा टिकाराम अर्याल, र रैनादेवी छहरा गाउँपालिकामा टोलराज उपाध्याय खटिनु भएको छ ।
यता निस्दी गाउँपालिकाको मित्यालमा पनि एक कार्यक्रमका विच निर्वाचन अधिकृतको कार्यालय उट्घाटन भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनलाई लक्षित गर्दै कार्यालय गरिएको हो । निर्वाचन अधिकृत दुर्गा प्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले निर्वाचन आचारसंहिता तथा निर्वाचन प्रक्रिया सम्बन्धी जानकारी गराउनु भएको थियो ।
निस्दी गाउँपालिकाको केन्द्र मित्यालमा भएको कार्यक्रममा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, पालिकाका राजनैतिक दलका प्रमुख, जनप्रतिनिधि तथा कर्मचारीको समेत उपस्थिति रहेको थियो ।
निर्वाचन भयरहित, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न जिल्लाभरका दश वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको हो । निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रमा रहेका समस्या, आचारसंहिता पालनाको अवस्था समेत हेर्ने छ । उसले मतदाता नामावली टाँस्ने, उम्मेदवारी दर्ता, मतदान गराउनेदेखि मतगणना गर्ने कामसमेत गर्ने छ ।