
पाल्पा । अगामी स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले निस्दीको उपाध्यक्षमा तिरन कुमारी श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
श्रेष्ठले, महिला सशक्तीकरणसंगै समृद्धि निस्दीको लागि उपाध्यक्षको उम्मेदवारी दिएको बताएका छन् । निर्वाचित भएपछि सबैभन्दा पहिला निस्दीका महिलाको सशक्तीकरणमा जोड दिदै , घरेलु तथा महिला हिंसाको अन्त्य गरी समृद्धि निस्दीको लागि अगाडि बढने प्रतिबद्धता गर्नुभएको छ ।
विक्रम सम्वत २०२६ सालमा रम्भा गाउँपालिका हेक्लाङ, पाल्पामा श्रेष्ठको जन्म भएको हो। २०४५ सालमा भानुभक्त माध्यमिक विद्यालय गेझाबाट एसएलसी उतिर्ण गरेसंगै राजनीतिमा रुचि राखदै आउनुभएको श्रेष्ठले उच्च शिक्षालाई निरन्तर दिन सक्नुभएन । यसैबीच २०४७ सालमा निस्दी – ५ , गल्धा , बेलडाँडा स्थित टेक प्रसाद श्रेष्ठसँग विवाह बन्धनमा बाँधिनुभएको थियो ।
सरल स्वभाव, नरम बोली र उच्च नेतृत्व शैली भएको श्रेष्ठ निस्दीको नेतृत्व गर्ने महिलाहरुमा अग्र पंक्तिमा आउँछ । आफनो गाउँटोल देखि सिंगो पालिकामा महिलाहरुको नेतृत्व गर्दै आउनुभएको श्रेष्ठ नेकपा एमाले निस्दी कमिटीको उपाध्यक्ष हुनुहुन्छ । साथै अखिल नेपाल महिला संघ जिल्ला कमिटी सचिवालय सदस्य समेत हुनुहुन्छ ।
गल्धा सामाजिक उद्धमी महिला सहकारीको अध्यक्ष रहनुभएको श्रेष्ठले सहकारी मार्फत धेरै कार्यक्रम गर्दै आउनुभएको छ ।चुलोचौकोमा सिमित रहने महिलाहरुको आर्थिक वृद्धिको लागि सहकारीको माध्यमबाट विभिन्न आयआर्जनका कार्यक्रम गर्नुभएको छ । श्रेष्ठ महिला समन्वय समिति निस्दीको अध्यक्ष हुनुहुन्छ ।
निस्दीका सातै वडाको महिलाहरुको नेतृत्व गर्नुहुँदै महिला समन्वय समिति मार्फत विभिन्न कार्यक्रमहरु गर्दै आउनुभएको छ । श्रेष्ठ सामुदायिक बन उपभोक्त महासंघ पाल्पाको सदस्य समेत हुनुहुन्छ । यि बाहेक अन्य विभिन्न समुहको नेतृत्व गर्दै आउनुभएको श्रेष्ठ सामाजिक कार्यमा संधै अग्रसरता देखिन्छ । श्रेष्ठले निस्दीमा महिलाको अवस्थालाई नजिकैबाट बुझेको बताउनुभएको छ । आफू निर्वाचित भएपछि हरेक पीडित महिलाको घर – घरमा पुग्ने बताउनुभएको छ ।
घरेलु तथा महिला हिंसको अन्त्यका लागि सशक्त भुमिका रहने बताउनुभएको छ । साथै कृषिलाई आधुनिकीकरण गरी कृषि पेसामा आवद्ध कृषकहरूलाई कृषिमै आत्मानिर्भर रहन सकिने गरी कार्यक्रम ल्याइने बताउनुभएको छ । वेरोजगार युवाहरूलाई रोजगारी सृजनाको लागि उपयुक्त कार्यक्रम ल्याउने बताउनुभएको छ । साथै भौतिक विकास मात्रै नभएर मानवीय विकास , रोजगारमुलक कार्यक्रम , युवा उद्घमी , महिला सशक्तीकरण जस्ता कार्यक्रमलाई जोड दिने बताउनुभएको छ ।