नेपाली कांग्रेस रामपुरकाे संकल्प पत्र सार्वजनिक

बाेलीखबर   २१ बैशाख २०७९, बुधबार १०:५७

पाल्पा  । नेपाली कांग्रेस रामपुरले स्थानीय तह निर्वाचन २०७९ को संकल्प पत्र सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचनमा जनताको घरदैलोमा पुग्ने एजेण्डा सहितको पत्र सार्वजनिक गरेको हो ।

‘सबल स्थानीय सरकार नेपाली कांग्रेसको रहर, समुन्नत र समृद्ध हाम्रो रामपुर शहर’ भन्ने नारा सहितको संकल्प पत्र प्रस्तुत गर्दै सुशासन युक्त सबल र समुन्नत स्मार्ट रामपुर निर्माणमा जोड दिएको छ ।
नेपाली काङ्ग्रेस नगर पार्टी कार्यालयमा संकल्प पत्र सार्वजनिक गर्दै काङ्ग्रेसले कालीगण्डकी नदी डाइभर्सन विरुद्ध “कालीगण्डकी हाम्रो सभ्यता, यसलाई मास्न दिदैनौ ।” उल्लेख गरेको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्ण प्रसाद अधिकारी, महासमिति सदस्य देवराज ढकाल, सन्दिप राना, नगर प्रमुखका उम्मेदवार रमण बहादुर थापा, उपप्रमुखका उम्मेदवार बालकुमारी थापा, प्रदेश प्रतिनिधि श्यामकान्त खनालले संयुक्त रुपमा संकल्प पत्र सार्वजनिक गर्नुभएको हो ।

शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी र सञ्चार, भौतिक पूर्वाधार, धर्म, संस्कृति तथा पर्यटन, कृषि, रोजगार, नगर विशेष सेवाको संकल्प गरेको छ । भिजिट रामपुर २०८० बाट आन्तरिक र बाह्य पर्यटक भित्र्याउने, कर नबढाई करको दायरा बढाउने, एक बर्ष भित्र “हिलो रहित नगर” घोषणा गर्ने, ५ वर्ष भित्र मुख्य सडक देखि वडा कार्यालय र वडा स्तरिय शहरी केन्द्र जाने बाटो ग्रिन रोडको अवधारणा अनुसार कालोपत्रे गर्ने जनाएको छ ।

अपाङ्गमैत्री वडा भवन, रोजगारी सृजनाको लागि नागरिक हेल्प लाईन, १५ जना भन्दा बढी नेपाली नागरिक भन्दा बढी रोजगारी दिने उद्योग र संस्थालाई ३० लाख सम्म ऋणको व्याज अनुदान, लगानी भित्रयाउनका लागि १० रोजगारी दिने उद्योगलाई ५० प्रतिशत सम्म बिद्युत महशुलमा छुट छ । नागरिक हेल्पलाईन मार्फत २४ सै घण्टा एम्बुलेन्स, दमकल र अति आवश्यक सेवा प्रदान गर्ने जनाएको छ ।
नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति देव बहादुर थापा मश्राङ्गीले स्वागत र नगर सचिव ओम प्रकाश बस्यालले कार्यक्रम सञ्चालन गर्नुभएको हो ।