
पाल्पा, रामपुर अस्पतालमा नब निर्वाचित जनप्रतिनिधि, अस्पताल प्रमुख तथा चिकित्सकहरुलाई स्वागत गरिएको छ । स्थानीय तह निर्वाचन बाट रामपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधि, अस्पतालका नव नियुक्त अस्पताल प्रमुख तथा डाक्टरहरुलाई स्वागत गरीएको हो ।
डाक्टर लविन परियारको स्वागतबाट सुरु भएको कार्यक्रममा रामपुर अस्पताल विकास समितिका अध्यक्ष राम प्रसाद ढकालले रामपुर नगरपालिकामा निर्वाचित नगर प्रमुख रमण बहादुर थापा, वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, नव नियुक्त अस्पताल प्रमुख नेत्र नारायण पोखरेल, रामपुर अस्पतालमा नियुक्त भई आउनु भएका डाक्टर सन्दिप कुमार चौधरी, किरण कुमार चौधरी, गंगा चौधरी र लेखापाल चरनलाल पुरीलाई अस्पतालमा कार्यक्रम गरी स्वागत गरिएको हो । कार्यक्रममा रामपुर नगरपालिकाका राजनैतिक दल, सुरक्षा निकायका प्रमुख, पत्रकार संगै अस्पतालका स्वास्थ्कर्मी तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रामपुर अस्पताल नगरको मात्रै नभई गण्डकी बेशी क्षेत्रका जनताको स्वस्थ्य संग प्रत्यक्ष सरोकार राख्ने संस्था भएको भएको बताउनुभयो । अस्पताल प्रदेश मातहतमा रहे पनि नगरपालिकाले आवश्यक साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । थापाले अस्पतालमा डाईलाईसिस सेवा सुचारुको लागि पहल गर्ने बताउनुभयो ।
रामपुर अस्पतालका नव नियुक्त प्रमुख नेत्र नारायण पोखरेलले सरोकारवालाहरुको सुझाव र सल्लाह लिई व्यवस्थापन पक्षलाई चुस्त बनाएर जिम्मेवारीका साथ अघि बढ्ने बताउनुभयो । रामपुर नगरपालिका–५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले अस्पतालको व्यवस्थापन, सेवालाई प्रभावकारी बनाउन आफ्नो तर्फ बाट लाग्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर समितिका सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मी, नेकपा माओवादी केन्द्रका अध्यक्ष यम बहादुर सुनार, नेकपा एकिकृत समाजवादी रामपुरका अध्यक्ष फणेश्वर गौतम, निवर्तमान अस्पताल व्यवस्थापन समितिका सदस्य ईश्वरी देवी खनाल र सामुदायिक रेडियो रामपुरका स्टेशन म्यानेजर छवि खनालले आफ्ना सुझाव राख्दै अस्पतालको सेवा थप प्रभावकारी बनाउन सहयोग गर्ने बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद ढकालले भवन निर्माण सम्पन्न गर्नको लागि ताकेता गर्दै, आवश्यक जनशक्ति परिपूर्तिको लागि निरन्तर लाग्दै आएको जानकारी दिदै व्यवस्थापन र सेवालाई थप व्यवस्थित बनाउन कदम चाल्दै आएको बताउनुभयो । उहाँले चिकित्सकहरुलाई ढुक्क भएर सेवा प्रदान गर्न आग्रह गर्दै स्वास्थ्यकर्मीहरुको साथमा समिति रहेको बताउनुभयो ।
अस्पतालका एमडिजिपि डाक्टर रन्दीप राउतले अस्पतालमा मासिक ४ हजार देखि ५ हजार सम्म विरामीले सेवा दिदै आएको र विदाको दिन बाहेक भिडियो एक्सरे, फिजियोथेरापी, डेन्टल सेवा, २४ सै घण्टा अप्रेशन सेवा, एक्सरे, ल्याव, नियमित प्रदान गरिरहेको जानकारी दिनुभयो । गत वर्ष बैशाख देखि सञ्चालन गर्दै अप्रेसन सेवा निरन्तर सञ्चालनमा रहेको जानकारी गराउँदै ४ महिनाको अवधीमा ४६ वटा अप्रेसन सफल भएको बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ढकालको अध्यक्षतामा भएको र प्रशासन सहायक हिरा वि.क.को सञ्चालनमा भएको हो ।