
पाल्पा । रामपुरमा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै अनेरास्ववियुले विरोध प्रदर्शन भएको छ । नेकपा एमालेका भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) शहीद बहुमुखी क्याम्पस इकाई कमिटीले मंगलबार अपरान्ह बेझाँड बजारमा प्रदर्शन गरेको हो ।
विद्यार्थीहरुले बेझाँड बजार नहर अफिस बगैँचा बाट नारा लगाउँदै प्ले कार्ड सहित बेझाँड बजार परिक्रमा गरेका थिए । ‘मूल्य वृद्धि फिर्ता गर, नालायक सरकार राजिनामा दे, पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर, दलालहरु होसियार’ लगाएतका नारा लगाउँदै बजार परिक्रमा गर्दै भएको र्याली बेझाँड चोकमा आएर विरोध सभामा परिणत भएको थियो ।
विरोध सभालाई सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य शंकर प्रसाद गौतमले मूल्य वृद्धिको विरोध स्वरुप विरोधका कार्यक्रम गरेको बताउँदै फिर्ता नलिए आन्दोलनलाई थप सशक्त बनाउने बताएका छन् । उनले जनताको जनमत बाट नभै अदालतको परमादेशबाट आएको सरकार चुनावी खर्च जुटाउन मूल्य वृद्धि गरीरहेको आरोप लगाउँदै स्थानीय तह निर्वाचन प्रभावित हुने भएकाले मतपरिणाम सकिनै लाग्दा वर्तमान सरकार मूल्य वृद्धि गरिरहेको बताए ।
मूल्य वृद्धिका विरुद्ध एकताबद्ध भएर लाग्न पर्ने अाग्रह गरेका छन् । विरोध सभाको सञ्चालन अनेरास्ववियुका जिल्ला सचिव मदन आचार्यले गरेका थिए ।