
पाल्पा । निस्दी गाउँपालिका पाल्पाले सामाजिक तथा आर्थिक बिकासमा जोड दिने गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनु भएको छ ।
नवनिर्वाचित तथा निवर्तमान जनप्रतिनिधिहरुका लागि स्वागत, बिदाई तथा सम्मान कार्यक्रममा बोल्नु हुँदै उक्त कुरा बताउनुभएको हो । कार्यक्रम बोल्नु हुँदै निर्वाचन अधिकृत दुर्गा प्रसाद बस्यालले स्थानीय तह सदस्य निर्वाचन सौहार्द र शान्तिपूर्ण रुपमा सन्चालन भएको बताउँदै निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा बोल्नुहुदै निवर्तमान गाउँपालिका उपाध्यक्ष रीता कुमारी अर्यालले निस्दी गाउँपालिकालाई पिछाडिएको गाउँपालिका भन्ने गरे पनि कृषि र पर्यटनको लागि सम्भावना रहेको बताउनुभयो । विगतको स्थानीय सरकारले गर्न बाँकी रहेका योजना तथा कार्यक्रमहरुलाई निरन्तरता दिदै मानव संसाधनमा जोड दिन अर्यालले सुझाव दिनुभएको थियो ।
त्यसैगरी नेपाली कांग्रेस प्रदेश क का उपसभापति तथा अध्यक्षका उम्मेदवार गोविन्द प्रसाद अर्यालले गाउँ सभामा प्रतिपक्ष नभएपनि आफ्नो पार्टी र निस्दीका जनताले सदैव प्रतिपक्षको भूमिकामा रहने बताउनुभयो । नेकपा एमाले गाउँकमिटीका अध्यक्ष नर बहादुर सुनारीले निस्दीको बिकासमा नवनिर्वाचित जनप्रतिनिधिहरुले निर्वाचनमा गरेका प्रतिबद्धता अनुसार कार्य सन्चालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा निवर्तमान वडाध्यक्षहरु पूर्ण बहादुर खाँड,पूर्ण बहादुर बाकाबल,लक्ष्मी प्रसाद पाटा,मन प्रसाद सोती,भीम बहादुर बयम्बु,गगन सिं सोती लगायतले आ-आफ्नो अनुभव र सिकाइ बारे बताउनुभएको थियो । कार्यक्रममा निवर्तमान जनप्रतिनिधिहरुलाई बिदाई तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत समेत गरिएको थियो ।
वडा नम्बर-६,अर्चले,पाल्पाका वडाध्यक्ष मेख बहादुर सुनारीले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको सन्चालन निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले गर्नुभएको हो ।
फाेटाे साैजन्यः निस्दी गाउँपालिका