
तानसेन : पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आन्दोलन गर्दै आएका ६ जना आन्दोलनकारीलाई पाल्पा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा युवा संघ र अनेरास्वयुवियुका नेता तथा कार्यकर्ता रहेका छन्।
युवा संघ र अनेरास्वयुका कार्यकर्ताले मूल्यवृद्धिको विरोधमा सरकारी सवारी साधन रोक अभियानको क्रममा प्रहरीले तानसेन आन्दोलन चोकबाट ६ जनालाई पक्राउ गरेको हो। प्रहरीले युवा संघ नेपालका केन्द्रीय सदस्य दिपक विश्वकर्मा, जिल्ला कोषाध्यक्ष सुधिर भट्टराई, तानसेन नगर अध्यक्ष राजेश भट्टराई, अनेरास्वयवियुका जिल्ला अध्यक्ष हिरा कुल कुवँर, युवा संघका जिल्ला सदस्य कृष्ण बस्याल र शिशिर बस्याललाई नियन्त्रण लिइ जिल्ला प्रहरी कार्यालय पाल्पामा राखेको छ। सरकारी सवारी साधनको चाबी नियन्त्रण लिने क्रममा ६ जना आन्दोलनकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी विरेन्द्र थापाले बताए।
सरकारले चुनावी खर्च उठाउन, जनताको ढाड सेक्ने गरी हप्तामा दुईपटक अत्याधिक पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको, खाने तेलदेखि खाद्यान्य, तरकारीजन्य सबै उत्पादनमा दिनहुँ मुल्यवृद्धि भएको, कमिशन, घुसखोरी, बढेको विरोधमा अनेरास्ववियु र युवा संघ पाल्पाले संयुक्त रुपमा आन्दोलन गर्दै आएको छन्। पक्राउको क्रममा युवा संघका पाल्पा इन्चार्ज दिपक विश्वकर्माले सरकारले मूल्यवृद्धि फिर्ता नलिएसम्म पाल्पामा आन्दोलन जारी राख्ने बताए।