
काठमाडौं । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज आज बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । तारा एयरको विमान मुस्ताङको थासाङ-२ स्थित मानापाथी हिमालको फेदमा भेटिएको प्रहरीले जनाएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पनि विमान भेटिएको पुष्टि गरेका छन् ।
तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ .
जहाजमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ ।
गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए । दुर्घटनाग्रस्त जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार थिए ।
पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।