पाल्पा क्षेत्र न १ का पुर्ब सांसद भद्रबहादुर थापाको निधन

बाेलीखबर   २८ जेष्ठ २०७९, शनिबार २१:२०

रामपुर । पाल्पा जिल्लाको निर्वाचन क्षेत्र नं. १ का पूर्व सांसद भद्र बहादुर थापाको आज शनिबार बिहान आफ्नै निवास रामपुर १० बर्दलेमा निधन भएको छ ।

आफ्ना पिताको क्रिया गरेर पिण्ड दिँदै गर्दा क्रियाकर्म सम्पन्न नहुँदै उहाँको बिहान ९ बजेतिर निधन भएको परिवारले जानकारी दिनुभयो ।

उहाँको पिता ६२ वर्ष अगाडिदेखि बेपत्ता भएकोमा अब जीवितै नरहेको निष्कर्षका साथ उहाँले १२ दिन अगाडिदेखि पिताको क्रियाकर्म गर्नु भएको थियो ।

विक्रम सम्बत २००६ सालमा जन्मिनु भएका पूर्व सांसद थापा तत्कालीन गेझा गा वि सको पहिलो अध्यक्ष हुनु भएको थियो । नेकपा एमालेबाट निर्वाचित उहाँले विक्रम सम्बत २०४९ देखि २०५४ सम्म गेझा गाविसको अध्यक्षको रुपमा सेवा गर्नु भएको थियो ।

त्यसैगरी २०५४ देखि २०५६ सम्म उहाँ पाल्पा जिल्लाको जिल्ला विकास समिति (जिविस) उपसभापति बन्नु भएको थियो ।

उपसभापति भएकै बेला राजीनामा दिएर उहाँले २०५६ सालमा संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्नु भएको थियो । उहाँले काँग्रेसका तत्कालीन चर्चित युवा नेता विजयराज घिमिरेलाई पछाडि पारेर निर्वाचित हुनुभएको थियो ।

पूर्ण कालिन राजनीतिमा आउनु अघि उहाँले स्थानीय भानुभक्त माध्यमिक विद्यालयमा स्थायी शिक्षक हुनुहुन्थ्यो । उहाँले १४ बर्ष अध्यापन गर्नु भयो । स्थानीयहरु आफ्ना साथि र एमालेका नेताहरु उहाँलाई नाम जस्तै भद्र र शालीन स्वभावका थापालाई असल र इमानदार राजनीतिज्ञ र नैतिकवान् गुरुका रुपमा स्मरण गर्छन ।

श्रीमती, छोरा र छोरी रहेका थापाको आजै स्थानीय आँधी घाटमा अन्यस्टि गरिएको छ । उहाँको अन्त्यटिमा नेकपा एमालेको नेता कार्यक्रम  शुभचिन्तक आफन्तजनहरूकाे उपस्थिती थियाे ।