निस्दीमा सहुलियत पसल सञ्चालन

धनबहादुर ठाडा   २ असार २०७९, बिहीबार १८:१७

पाल्पा । निस्दी गाउँपालिका पाल्पाले सहुलियत पसल सञ्चालन गरेकाे छ । लुम्बिनी प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्थानीय तहसँगको सहकार्यमा पसल सञ्चालन भएको हो ।

पालिकाको सातै वडाका स्थानीय बासिन्दाले नेपाली नागरिकताको प्रमाणपत्र लिइ सहुलियत दरमा आफुलाई आवस्यक खाद्यान्न किन्न सकिने छ । सहुलियत पसल आरतीदेवी स्टोर्स मित्याल बजार र रोशनी किराना पसल गल्धा, ढुंगानावेशीमा सञ्चालनमा ल्याएको छ । इच्छुक निस्दी बासिले आफुलाई पायक पर्ने पसलमा गएर समान किन्न सकिने व्यवस्था रहेको छ ।

सहुलियत पसलमा खरिद गर्न सकिने खाद्यान्नका सामग्री रहेकोे छ । कार्यक्रममा एक परिवार एकपटक मात्र सहभागी गराइने गाउँपालिकाले बताएको छ । एक परिवारले चामल मध्यम ५० किलोसम्म प्रतिकिलो १० रुपैयाँ सहुलियतमा पाइनेछ । आयोडिन नुन २ किलो प्रतिकिलो ५ रुपैयाँ दाल ५ केजीसम्म प्रतिकिलो २० रुपैयाँ सहुलियतमा पाइनेछ । त्यसैगरी तोरी तथा सोयाविनको तेल ७ लिटरसम्म प्रतिलिटर २० रुपैयाँ सहुलियतमा पाइनेछ । आँटा १० किलो प्रतिकिलो २० रुपैयाँ सहुलियतमा र चिनी ५ किलोसम्म प्रतिकिलो १५ रुपैयाँ सहुलियतमा पाइने व्यवस्था रहेको छ ।

यसरी सहुलियत दरमा खाद्यवस्तु पाएपछि पसलमा भिडभाड भएको आरतीदेवी स्टोर्सका सञ्चालक दुर्गा बहादुर सारुले बताउनुभएको छ । यो कार्यक्रम असार १ गतेदेखि छुट सुबिधा अनुदान रकम नसकिएको अवस्थासम्म लागू हुने गाउँपालिकाले जनाएको छ ।