जिल्ला समन्वय समिति पाल्पाकाे प्रमुखमा खनाल

बाेलीखबर   ४ असार २०७९, शनिबार १४:१९

पाल्पा । जिल्ला समन्वय समिति पाल्पामा एमालेको प्यानलै विजयी भएको छ । शुक्रबार सम्पन्न निर्वाचनको मत परिणामका अनुसार गठबन्धन दलका उम्मेदवारलाई पछि पार्दै एमालेका उम्मेदवारहरु विजयी भएका हुन् ।

२० मत रहेको पाल्पामा ११ मतसहित एमाले उम्मेदवार टंकनाथ खनाल प्रमुखमा विजयी भए । प्रतिस्पर्धी गठबन्धन दलका साझा उम्मेदवार यमलाल तिमिल्सिनाले ९ मत पाएका थिए ।

उपप्रमुखमा एमालेकै काशिका गैरे (ज्ञवाली) निर्वाचित भएकी छन् । सदस्यहरुमा बसन्ता ज्ञवाली, केशमाया सुनार (दलित महिला सदस्य), विष्णुकुमारी कँडेल घिमिरे, केशवराज खराल, भविसरा (महिला सदस्य) सारु, रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले जानकारी दिए । उनका अनुसार निर्वाचित भएका सबै पदाधिकारी तथा सदस्यले ११ मत ल्याएका छन् । गठबन्धन दलको तर्फबाट उम्मेदवारी दिएका सबैले समान ९ मत ल्याए ।

निर्वाचित प्रमुख तथा उपप्रमुख र सदस्यहरुका लागि प्रमाणपत्र वितरण र पद तथा गोपनियको शपथग्रहण पनि शुक्रबार नै सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत केसीले जनाए ।