रम्भामा बालमैत्री समितिकाे बैठक सम्पन्न

एवत सारू   १९ मंसिर २०७७, शुक्रबार ०७:३९

रामपुर, रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङ्गकोटको बालमैत्री स्थानीय शासन समितिको बैठक बसेको छ । बैठकमा बालबालिकाका स्वास्थ्य, शिक्षा, पोषण, बालविवाह, बाल अधिकार तथा बाल सहभागीता बारे छलफल चलाईएको छ । राजनैतिक दलका प्रतिनिधी, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, बाल अधिकारकर्मीहरुले फोक्सिङ्गकोटमा बालमैत्री शासन सम्बन्धी हाल सम्म भए गरेका विषयमा विचार राखेका थिए । बैठकको सहजीकरण गर्दै रम्भा गाउँपालिका बालमैत्री शासन कार्यदलका सदस्य कुश्माखर पाण्डेले गाउँपालिकाले निर्णय गरेका तथा निर्देशन बारे जानकारी दिदैं फोकिसङ्गकोटलाई बालमैत्री वडा बनाउन सबैको जिम्मेवारी रहेकोले यस कार्यमा सकारात्मक सहयोग गर्न जोड दिनु भएको थियो । बैठकमा फोक्सिङ्गकोटमा हुने गरेका बालविवाह तथा २० वर्ष उमेर नपुग्दै गर्भवती भएका महिलाहरुको बारेमा व्यापक छलफल चलाईएको थियो । फोक्सिङ्गकोटको केही वस्तीमा २० वर्ष नपुग्दै विवाह गर्ने, गर्भवती हुने जस्ता कार्यकलाप भएको र नियन्त्रणको लागि गाउँपालिकाले नै आवश्यक कानूनी कारवाही गर्नुपर्ने तर्कहरु बैठकमा चलेको थियो । बैठकमा चेतबहादुर सुनारी, दुर्गाबहादुर थापा, नारायण मश्राङ्गी, भोवीसरा सारु, देबबहादुर कार्की, जीतबहादुर गाहा, सरस्वती बिक, कोपिल राना लगायतले बालविवाह रोकथामका लागि आफ्नो सुझाव पेश गरेका थिए । बैठकले फोक्सिङ्गकोट क्षेत्रमा हुने बालविवाहमा सार्वजनिक पद धारण गरेको व्यक्ति सहभागी नहुने, घटनाको जानकारी वडा कार्यालयलाई गराउने समेत निर्णय गरेकोछ । बैठकले पुस १५ गते भित्र फोक्सिङ्गकोटका सबै विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गर्ने, पुस महिना भित्र बालविवाह न्युनीकरणका चेतनामूलक कार्यक्रम चलाउने, बाल क्लबलाई सक्रीय पार्ने, सम्पर्क व्यक्तिको रुपमा वडा सचिव धनकुमारी सारुलाई जिम्मेवारी दिने निर्णय गरेको छ । बैठक बालमैत्री स्थानीय शासन समिति फोक्सिङ्गकोटका संयोजक एवम वडा अध्यक्ष उमानसिं सारुको अध्यक्षतामा चलेको थियो ।