
पाल्पा । बगनासकाली गाउँपालिकाको १२ औं गाउँसभा सम्पन्न भएकाे छ । शुक्रबार सम्पन्न गाउँसभाले आगामी वर्षको लागि नीति कार्यक्रम तथा बजेट सर्वसम्मत रुपमा पारित भएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष सरस्वती चिदीले प्रस्तुत गरेकाे गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएकाे थियाे।
अध्यक्ष चिदीले गाउँपालिकाको समग्र विकास तथा समृद्दिका लागि अवलम्वन गरिने नीति तथा कार्यक्रम, आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार बिकास, बन वातावरण तथा विपद व्वस्थापन, सुशासन तथा संस्थागत विकास तथा लक्षित वर्गका बिषयमा अबलम्बन गरिने नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे थियाे ।
नीति अन्तर्रगत दीर्घकालीन नीतिमा दीर्घकालीन विकासको लागि आवधिक त्रिवर्षिय योजना कार्यान्वयन तथा अद्यावधिक गर्ने, गाउँपालिका क्षेत्रको भू–उपयोग नीति तर्जुमा गरी समुन्नत कृषि गाउँको रूपमा विकास गर्ने, पर्यटन विकासको समुचित विस्तार र प्रवद्र्धन गर्ने, गाउँ क्षेत्रभित्रका सम्भावित क्षेत्रहरूको पहिचान गरी करको दायरा फराकिलो बनाउने उल्लेख छ ।
शिक्षा, स्वास्थ्य, भाषा, साहित्य, कला, संस्कृति र खेलकुदको विकास गर्ने, सूचना प्रविधिको विकास र विस्तार गरी सेवा प्रवाहलाई छिटो छरितो तुल्याउने, सरसफाई र वातावरण संरक्षणमा उल्लेख्य कार्य गर्ने उल्लेख छ ।
नीति तथा कार्यक्रमा विकासका पूर्वाधारहरूको पहुँच बिस्तार गरी बस्तीस्तरसम्म विकासका अवसरहरूको पर्याप्त उपयोग गर्ने अवस्थाको सुनिश्चितता गर्ने, सन्तुलित, समावेशी र समन्यायिक विकासको अवधारणामार्फत विभिन्न वर्ग, क्षेत्र, लिङ्ग, समुदाय र जातजातिको श्रोत साधनमा पहुँच अभिवृद्धि गर्ने, उत्पादनमूलक क्षेत्रमा ब्यवसायिकता र उद्यमशीलताको विकास एवं सामाजिक परिचालन मार्फत गरिवी न्यूनीकरण गर्ने, जनसहभागिता, पारदर्शिता र उत्तरदायित्व वढाई सु–शासनको प्रत्याभूति दिने, वातावरणमैत्री नीति योजना र कार्यक्रम तय गरी कार्यान्वयन गर्ने, कृषि एवं पशुपालनलाई ब्यवसायिकरण गरी आय आर्जन वृद्धि गर्ने, समृद्ध, समुन्नत र श्रोत सम्पन्न आधुनिक गाउँपालिकाको रूपमा विकास गर्ने विषय पनि समावेश छ ।
सभामा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले ५० करोड १८ लाख २३ हजारको बजेट पनि सर्वसम्मत रुपमा पारित भएको छ । बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सामाजिक विकासका साथै खानेपानी लगायतमा समानुपातिक ढंगबाट बजेट विनियोजन भएको उपाध्यक्ष पाठकले बताए। बगनासकाली गाउँपालिकाले पछिल्लो समय गरेका निर्णयहरु जस्तै सबै अपांगता भएका ब्यक्तिहरुलाई भत्ता लगायत अन्य बिषयका लागि पनि बजेट बिनियोजन गरेको छ । बगनासकालीका हरेक क्षेत्रका नागरिकहरुसँगको सुझाव सल्लाहको आधारमा नै बजेट ल्याइएको र बजेटको सफल कार्यान्वयन हुने उपाध्यक्ष पाठकले बताए।