
पाल्पा, पाल्पाको रामपुरमा खानेपानी आपूर्ति गर्दै आएको रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पत्रकार भेटघाट कार्यक्रम गरेको छ । पत्रकार भेटघाटबाट कार्यक्रम मार्फत खानेपानी महशुल घटाएको जानकारी गराएको छ । विपन्न तथा मध्यमवर्गीय परिवारलाई मध्यनजर गर्दै साउन १ देखि लागु हुने गरी हालको महशुल परिवर्तन गरेको हो ।
शुक्रबार विहान संस्थाको सभाहलमा पत्रकार भेटघाट कार्यक्रम उपाध्यक्ष हजिल दिन मियाँको स्वागतबाट सुरु भएको कार्यक्रममा सस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठले परिर्वतीत महशुलका बारेमा जानकारी गराउनु भएको हो । यस अघि संस्थाले पहिलो १० युनिट सम्म २ सय ७५, १० देखि २० युनिट सम्म थप प्रति युनिट ४२ रुपैयाँ र २१ देखि माथि प्रति युनिट ६३ रुपैयाँ लिदै आएकोमा अहिले ८ युनिट सम्म १ सय ७५, ९ देखि १० युनिट र ११ देखि २० युनिट सम्म प्रति युनिट ४० रुपैयाँमा झारेको छ । साथै २० भन्दा माथि साविक कै दर ६३ रुपैयाँ प्रति युनिट कायम राखेको छ ।
रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष श्रेष्ठले विपन्न र मध्यम वर्गीय परिवारले पानी खपट कम गर्ने भएकाले सोही अनुसार महशुल घटाएको जानकारी दिनुभयो । आयोजना सञ्चालनको क्रममा नगर विकास कोष संग भएको सम्झौता अनुसारको महशुल दर परिवर्तन गर्न नसकिएको र अहिले संस्थाको अग्रहमा कोषको स्वीकृति पश्चात मात्र महसुल दर घटाएको बताउनुभयो । संस्था शुद्ध, सफा, सुरक्षित र सहुलियत दरमा खानेपानी जनता सम्म पु¥याउन प्रतिवद्ध भएर लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “संस्था आयोजना निर्माणको ऋण तिर्न सक्षम हुँदै गएको र साधारण सभामा उपभोक्ताको राय पश्चात नगर विकास कोषले महसुल घटाउन अनुमति प्रदान गरे पछि महसुल दर घटाएका हौं । नगर विकास कोषको अनुमति विना हामीले चाहेर मात्रै महसुल घटाउन सक्ने अवस्था थिएन ।”
२०६७ सालमा नेपाल सरकारको ५० प्रतिशत, एसियाली विकास बैंक र नगर विकास कोषको ४५ प्रतिशत ऋण र उपभोक्ताको ५ प्रतिशत लागत गरी २६ करोड ४० लाख १५ हजारको लागतमा खानेपानी आयोजना सञ्चालनमा आएको थियो । अध्यक्ष श्रेष्ठले रामपुरको बढ्दो जनसंख्या संगै खपट बढ्दो क्रममा रहेकाले यस अघिको योजनाको क्षमता अनुसार ३ हजार ७ सय ६४ धारा रहेको बताउँदै आयोजनाको क्षमता वृद्धि गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । वार्षिक रुपमा १ सय ५० देखि २ सय ग्राहाक थपिने क्रममा रहेकाले तत्काल अन्य स्रोतको व्यवस्थाका लागि पहल भैरहेको बताउनुभयो ।
संस्थाका कोषाध्यक्ष विष्णु मायाँ ढकालले उपस्थितलाइ धन्यवाद दिदै आयोजना निर्माणको क्रममा संस्थाले नगर विकास कोष संग लिएको ऋण अझै बाँकी रहेको जानकारी गराउनुभयो । विपन्न परिवारलाई सुरुवातमा छुटमा धारा जडान गरेकोमा अहिले संस्था स्वंयमले धारा जडान गर्न नसके पनि विपन्न परिवारलाई नगरपालिका र वडाको सहकार्यमा धारा जडान गर्दै आएको बताउनुभयो ।
संस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको र सचिव शालिकराम सिग्देलको सञ्चालनमा भएको हो । संस्थाले बोरिङ्ग बाट पानी तानेर संकलन गरी रामपुर ४, ५, ६ र ७ का उपभोक्ताहरुलाई वितरण गर्दै आएको छ ।